दाङ, असोज १ । नेकपा (एमाले) दाङले संविधान दिवसको अवसरमा जिल्लाभरका सबै पालिकामा कार्यक्रम सञ्चालन गर्ने भएको छ । ‘संविधानको रक्षा गरौँ’ भन्ने मूल नारासहित एमालेले भव्य कार्यक्रमको तयारी अघि बढाएको पार्टी सचिव श्याम डाँगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रम सफल बनाउन केन्द्रीय, प्रदेश र जिल्ला स्तरका पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न पालिकामा खटाउने निर्णय गरिएको छ ।

घोराही उपमहानगरपालिकामा पार्टी पोलिटब्युरो सदस्य तथा दाङ इन्चार्ज नरूलाल चौधरी र जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीलाई, तुलसीपुर उपमहानगरपालिकामा केन्द्रीय सदस्य भागवत विश्वासी र प्रदेश कमिटी सदस्य रामजी चौधरीलाई, लमही नगरपालिकामा केन्द्रीय सदस्य सिता न्यौपाने र नेता कुलबहादुर केसीलाई तथा राप्ती गाउँपालिकामा केन्द्रीय सदस्य जीवन गौतम र जिल्ला अध्यक्ष शिवकुमार आचार्यलाई जिम्मेवारी दिइने निर्णय भएको छ ।

त्यस्तै गढवा गाउँपालिकामा लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्य र प्रदेश सदस्य सुरामणि बेल्बासे, राजपुर गाउँपालिकामा केन्द्रीय सदस्य कुमार दसौदी र नेता रामप्रसाद गैरे, बबै गाउँपालिकामा केन्द्रीय सदस्य घनश्याम पाण्डे र नेता भुवनेश्वर पौडेल, शान्तिनगर गाउँपालिकामा सचिव श्याम डाँगी र नेता मेघराज भुसाल तथा दङ्गीशरण गाउँपालिकामा प्रदेश कमिटी सचिवालय सदस्य हुकुम बस्नेत र नेता सीमा न्यौपानेलाई खटाइने निर्णय भएको हो । बंगलाचुलीको कार्यक्रम भने घोराहीसँगै समाहित गरी आयोजना गरिने एमाले दाङले जनाएको छ ।

उपाध्यक्ष मनोहर बुढाथोकीले २०६२/०६३ को जनआन्दोलनबाट प्राप्त गणतन्त्र र संविधानको संरक्षण अहिलेको प्रमुख दायित्व भएको उल्लेख गर्दै सबै पालिकामा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सुरु गरिएको बताए । “वर्तमान संविधान ९२ प्रतिशत जनताबाट अनुमोदित छ, यसको सुरक्षा हाम्रो जिम्मेवारी हो,” उहाँको भनाइ छ, “गणतन्त्र र संविधानमाथि देखिएका मिचाहा प्रवृत्तिलाई रोक्नु अहिलेको प्राथमिकता हो ।”

अध्यक्ष शिवकुमार आचार्यले लामो संघर्षपछि प्राप्त संविधानको रक्षा सबैको साझा दायित्व भएको बताउँदै नेता, कार्यकर्ता र जनसाधारणलाई पालिका स्तरका कार्यक्रममा सक्रिय रहन आग्रह गरे । “जिल्लाभरका सबै साथीहरूलाई उच्च मनोबलका साथ पार्टी निर्माण अभियानमा जुट्न हार्दिक अनुरोध गर्दछु,” उहाँले भन्नुभयो, “पार्टी अब प्रत्येक टोलमा जनतासँग प्रत्यक्ष सम्पर्कमा पुग्ने तयारीमा छ ।”

पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज नरूलाल चौधरीले संविधानमा कुनै प्रकारको हस्तक्षेप नहोस् भनी एमालेले गाउँ–गाउँमा पुगेर जनतालाई सन्देश दिने योजना बनाएको बताए । “वर्तमान संविधान जनपक्षीय दृष्टिले उत्कृष्ट छ,” उहाँले चेतावनी दिए, “यसलाई हस्तक्षेप गर्न खोज्ने प्रयत्नलाई हामी सहन सक्दैनौँ ।”

यसैबीच, जिल्ला सचिवालय सदस्य तथा निर्वाचन विभाग प्रमुख विवेक श्रेष्ठले सामाजिक सञ्जालमार्फत संविधान दिवसका कार्यक्रमहरूमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस