दाङ, असोज १ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न निकायहरूमा उल्लेख्य भौतिक क्षति पुगेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री निवास र बुटवल सम्पर्क कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै, मुख्यमन्त्री निवासका तीनवटा सवारी साधन समेत नष्ट भएको उल्लेख छ ।

प्रदेशका निमित्त प्रमुख सचिव लीलाधर सुवेदीका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत दाङमा सातवटा मोटरसाइकल र एक गाडी नष्ट भएको र अर्घाखाँचीमा सामान्य तोडफोड भएको छ । शहरी विकास मन्त्रालयअन्तर्गत रुपन्देहीमा एउटा मोटरसाइकल जलेको र दाङको लमहीमा मन्त्री क्वार्टरभित्र रहेका सामग्री जलाइएका छन् ।

बुटवलस्थित लेखा नियन्त्रक कार्यालयमा करिब ९६ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका रुपन्देही, बाँके र दाङका यातायात कार्यालय, भैरहवाको उद्योग निर्देशनालय, दाङको घरेलु तथा साना उद्योग कार्यालय र बाँकेको पर्यटन सूचना केन्द्र पनि पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।

त्यसैगरी, स्वास्थ्य मन्त्रालयअन्तर्गत मन्त्री निवासमा क्षति पुगेको छ भने ऊर्जा मन्त्रालयअन्तर्गत दाङमा आठवटा मोटरसाइकल जलेका छन् । वन निर्देशनालय पनि पूर्णरूपमा क्षतिग्रस्त भएको छ । प्रदेश लोकसेवा आयोगको भवनमा आगजनी र तोडफोड, स्टोर नष्ट हुनुका साथै कर्मचारी तथा जनप्रतिनिधिका सम्पत्ति विवरण हराएको र छवटा गाडी पूर्णरूपमा क्षति भएको विवरणमा उल्लेख छ ।

यद्यपि राप्ती उपत्यका देउखुरीस्थित प्रदेश सरकारको प्रशासनिक परिसर भने सुरक्षित रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस