दाङ, असोज १ । घोराही उपमहानगरपालिका–१० स्थित वडा कार्यालयमा बुधवार सरसफाइ गरिएको छ । भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा तोडफोड तथा आगजनी भएको सो कार्यालय नेपाली कांग्रेस, नेकपा (एमाले) सहित विभिन्न संघ–संस्था र युवाहरूको पहलमा सफा गरिएको हो ।
वडाध्यक्ष दीपक पाण्डेयका अनुसार सरसफाइपछि आवश्यक सामग्री जुटाएर सेवा पुनः सञ्चालन गर्ने तयारी गरिएको छ । उनका अनुसार आन्दोलनका क्रममा भवनसहित कम्प्युटर र कागजातहरू जलेर नष्ट भएकाले हाल सभाहलका लागि निर्माण गरिएको भवनबाट अस्थायी रूपमा सेवा दिने तयारी भइरहेको छ ।
सोही आन्दोलनमा नेपाली कांग्रेस पार्टी कार्यालय, नारायणपुर इलाका प्रहरी कार्यालय, नारायणपुर खानेपानी, नारायणपुर उद्योग वाणिज्य संघ र लायन्स क्लबको कार्यालयमा समेत तोडफोड र आगजनी भएको थियो । हाल नारायणपुरका व्यवसायी महेश लम्सालको संयोजकत्वमा इलाका प्रहरी कार्यालयको भवन मर्मत र कार्यालय सञ्चालनका लागि व्यवस्थापन कार्य भइरहेको छ ।

