घोराही, असाेज ३ । जिल्ला प्रहरी कार्यालय दाङले हालैको जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी संस्थाबाट लुटिएका सामग्री बजारमा देखा पर्न थालेको भन्दै बिलबिजकबिना कुनै पनि सामान खरिद नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
प्रहरीका अनुसार आन्दोलनको क्रममा विभिन्न सरकारी कार्यालयबाट कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानरलगायतका विद्युतिय सामग्री लुटिएको छ । त्यस्ता सामान किनबेच भए कानुनी कारवाही हुने चेतावनी दाङका प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले दिएका छन् । उनले सरकारी सम्पत्ति कसैले लगेको देखिए वा बिक्रीवितरण भएको पाइए तत्काल प्रहरीलाई जानकारी गराउन पनि आग्रह गरे ।
प्रहरीले आन्दोलनमा लहलहैमा लागेर घरमा सरकारी सामग्री पुगेको भए अभिभावक स्वयं प्रहरीमा बुझाइदिन अपिल गरेको छ । “भुलवश बालबालिकाले लगेको भए पनि प्रहरीलाई बुझाइदिनुहोस, सामग्री नफिर्ता गरे चोरी मुद्दा चलाइनेछ,” एसपी तिमिल्सिनाले चेतावनी दिए ।
उनका अनुसार अहिले धेरै अभिभावकहरूले आफ्ना छोराछोरीले भुलवश ल्याएका सामग्री प्रहरीमा बुझाइरहेका छन् । घोराही र तुलसीपुरबाट यस्ता सामग्री फिर्ता गर्ने क्रम जारी रहेको प्रहरीको भनाइ छ ।
प्रहरीले आन्दोलनका नाममा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेहरूको पहिचान गर्ने कार्य तीव्र पारेको छ । यसका लागि फोटो र भिडियो विश्लेषण भइरहेको र केही व्यक्तिलाई हाजिरी जमानीमा राखिएको बताइएको छ । सर्वसाधारणसँग यस्ता प्रमाण भए प्रहरीलाई उपलब्ध गराई सहयोग गर्न पनि आग्रह गरिएको छ ।
यस्तै, चोरी वा लुटपाटको संकेत वा शंकास्पद गतिविधि देखिए तत्काल १०० नम्बरमा खबर गर्न प्रहरीले अपिल गरेको छ । चाडपर्वको समयमा आवतजावत बढ्ने भएकाले सार्वजनिक सवारीसाधन चलाउनुअघि एक पटक जाँच गराउन पनि सुझाव दिइएको छ । साथै, बजारमा कालोबजारी, मिसावटजस्ता क्रियाकलाप भए देखे प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ ।

