दाङ, ४ असोज । दाङको घोराही उपमहानगरपालिका–३ बरगदवा, भानपुरमा चार अर्ब रुपैयाँको लगानीमा निर्माण गरिएको संजीवनी शिक्षण अस्पताल यही असोज ६ गते औपचारिक रूपमा शुभसाइत गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक रोकाले घटस्थापनाको शुभ अवसर पारेर आयोजना गरिएको उद्घाटन कार्यक्रममा सबैलाई उपस्थित भई साथ र सहयोग प्रदान गर्न आग्रह गरेका छन्। उनका अनुसार संजीवनी अस्पताललाई आधुनिक प्रविधियुक्त, गुणस्तरीय स्वास्थ्य सेवा र शैक्षिक अनुसन्धान केन्द्रका रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

चार अर्ब रुपैयाँको लगानीमा बनेको उक्त अस्पतालमा प्रारम्भिक चरणमै अत्याधुनिक उपकरणसहित ५०० शैयाको सुविधा उपलब्ध गराइने बताइएको छ। अस्पतालले विशेष गरी दाङसहित सम्पूर्ण मध्यम र पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।

सीईओ रोकाका अनुसार शुभारम्भपछि अस्पतालमा सामान्य उपचारदेखि उच्चस्तरीय शल्यक्रिया, मातृत्व तथा बाल स्वास्थ्य, आकस्मिक सेवा, एनआईसीयू, पिआइसीयू, भेन्टिलेटरसहितको आइसीयू, एमआरआई, सीटी स्क्यानलगायतका सेवा सुरु हुनेछन्। साथै, शिक्षण अस्पतालका रूपमा यसलाई विकसित गर्दै आगामी दिनमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मी उत्पादन गर्ने उद्देश्य पनि रहेको उनले बताए।

अस्पतालका अनुसार यस संस्थाले स्वास्थ्य सेवा मात्र नभई स्थानीय तहमा रोजगारी सिर्जना गर्ने, स्वास्थ्य पर्यटन प्रवर्द्धन गर्ने र क्षेत्रीय स्तरमा स्वास्थ्य शिक्षा तथा अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याउनेछ। स्थानीयवासी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, उद्योगी–व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई असोज ६ गते हुने उक्त ऐतिहासिक शुभसाइत कार्यक्रममा सहभागी भई संजीवनी अस्पताललाई अझ सुदृढ बनाउन आग्रह गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस