तुलसीपुर, ६ असोज । समाजमा जनचेतनाको कमीका कारण कसैले पनि दृष्टि गुमाउन नपरोस् भन्ने उद्देश्यसहित नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न जिल्लामा आधारभूत आँखा स्वास्थ्य शिक्षा प्रदान गरेको छ ।

संघका अनुसार पछिल्ला दुई महिनामा मात्रै २ सय ५१ जनाले आँखा स्वास्थ्यसम्बन्धी तालिम प्राप्त गरेका छन् । दातृ निकाय एन.ए.भी.पी. नर्वेको आर्थिक सहयोगमा राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित आँखा अस्पतालहरूले विभिन्न स्थानमा तालिम सञ्चालन गरेका हुन् ।

दाङ, रोल्पा, रुकुम पश्चिम, कपिलबस्तु, सुर्खेत र सल्यानका सामुदायिक विद्यालयका शिक्षक, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य चौकीका इञ्चार्ज, स्वास्थ्यकर्मी र परम्परागत उपचारक (धामीझाँक्री)लाई तालिम दिइएको वरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकृत शालीकराम गौतमले जानकारी दिए ।

कार्यक्रमका प्रमुख प्रशासक डा. सम्शेर थापाका अनुसार नेत्रज्योति संघले उपचारसँगै सचेतनामूलक कार्यक्रम निरन्तर गर्दै आएको छ । “जनचेतनाको अभावका कारण दृष्टि गुमाउने अवस्था नआओस् भन्ने हेतुले हामीले आधारभूत आँखा स्वास्थ्य शिक्षा वितरण गर्दै आएका छौं,” उनले भने । यसबाट अन्धविश्वासका कारण घरमै उपचार गर्नुपर्ने सोच परिवर्तन भई अस्पतालसम्मको पहुँच बढेको उनको भनाइ छ ।

डा. थापाले ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी— आँखा स्वास्थ्यमा साझेदारी’ भन्ने नारालाई मूर्तरूप दिन स्थानीय पालिकासँग सहकार्यमा प्रत्येक पालिकामा एकीकृत आँखा उपचार केन्द्र विस्तार भइरहेको बताए । यसले आँखा स्वास्थ्य सेवाको पहुँच गाउँ–गाउँसम्म पु¥याएको उनको भनाइ छ ।

यसअन्तर्गत लमही आँखा अस्पतालले राजपुर गाउँपालिकामा २० जना महिला स्वास्थ्य स्वयंसेविका, रोल्पाको लुङ्गी गाउँपालिकामा २० जना आमा समूह, सुनिलस्मृति गाउँपालिकामा २५ जना शिक्षक, ऐरावती गाउँपालिकामा ११ जना धामीझाँक्रीलाई आधारभूत आँखा स्वास्थ्य शिक्षा दिएको छ ।

छन्द कालेबाबु नारायणी आँखा अस्पताल, बहादुरगञ्जले बुद्धभूमि नगरपालिका कपिलबस्तुमा २५ जना महिला स्वास्थ्य स्वयंसेविका र विजय नगर गाउँपालिकामा २० जना आमा समूहलाई तालिम दिएको छ ।

राप्ती आँखा अस्पतालले कालिमाटी गाउँपालिका सल्यानमा ३० जना शिक्षक, गुर्भाकोट नगरपालिका सुर्खेतमा ३० जना शिक्षक र २४ जना महिला स्वास्थ्य स्वयंसेविका, शारदा नगरपालिकाको श्रीनगर सल्यानमा २० जना आमा समूह तथा बाफिकोट गाउँपालिका रुकुम पश्चिमका २६ जना स्वास्थ्यकर्मीलाई एक दिने आँखा स्वास्थ्य शिक्षा तथा अपाङ्गता–सम्बन्धी तालिम दिएको गौतमले बताए ।

तालिममा आँखामा लाग्ने रोग, उपचारका उपाय, आँखाको हेरचाह तथा अपाङ्गताको प्रकारसम्बन्धी जानकारी दिइएको थियो । उज्यालो अभियानमार्फत नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न स्थानीय सरकारसँग साझेदारी गर्दै दृष्टिविहिनता न्यूनिकरणको अभियान चलाइरहेको छ ।

संघका अनुसार मोतियाबिन्दुका कारण नागरिकले दृष्टिविहिन जीवन बिताउन नपरोस् र नेपाल सरकारको आँखा स्वास्थ्य रणनीतिलाई सहयोग पुर्‍याउने उद्देश्यले पनि कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस