दाङ, ७ असाेज । जेन–जी आन्दोलनका कारण क्षति पुगेको आन्तरिक राजस्व कार्यालय तुलसीपुरले आजदेखि पुनः सेवा सुरु गरेको छ । हालका लागि कार्यालयले तुलसीपुर उद्योग वाणिज्य सङ्घको भवनमार्फत करदाता सेवा र राजस्वसम्बन्धी काम सञ्चालन गर्न थालेको हो ।
कार्यालयका प्रमुख कर अधिकृत श्रीधर टण्डनका अनुसार सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै तत्काल कर संकलन तथा करदातासम्बन्धी सेवा सुचारु गरिएको हो । दाङ, पूर्वी रुकुम, प्यूठान र रोल्पालगायत जिल्लाका करिब ३५ हजारभन्दा बढी करदाताले यस कार्यालयमार्फत सेवा लिँदै आएका छन् ।
जेन–जी प्रदर्शनका क्रममा कार्यालयका दुईवटा भवन र निवास पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । दुई गाडी र भित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । भवन प्रयोग गर्न नमिल्ने भन्दै प्राविधिक टोलीले सुझाव दिएको प्रमुख टण्डनले जानकारी दिए ।
उनका अनुसार उद्योग वाणिज्य सङ्घले निःशुल्क उपलब्ध गराएको स्थानबाट अहिले सेवा सुरु भए पनि केही समयपछि भाडाको भवनबाट सेवा दिनुपर्ने अवस्था आउन सक्नेछ । दाङका अन्य सरकारी कार्यालयमध्ये धेरैले अझै सेवा सुरु गर्न सकेका छैनन् भने केहीले पाल टाँगेर सेवा सञ्चालन गरिरहेका छन् ।












