भरत वली

घोराही, ९ असोज । गुरुकुल एकेडेमी घोराही, तुलसीपुर र लमहीका आधारभूत तहका करिब ६० जना विद्यार्थी अहिले घोराही–१९ सैघा पटिञ्जा र बंगलाचुली गाउँपालिका–२ मर्पेस क्षेत्रमा बन्द शिविरमा सहभागी भएका छन् । असोज ६ गते घटस्थापना दिवस सुरू भएसँगै उनिहरू उक्त शिविरमा कक्षा ६ का विद्यार्थीहरू सहभागी भएका हुन् ।

शिविरमा रहेका विद्यार्थीहरूले पहाडी क्षेत्रमा त्रिपालमा बसोबास गर्दै साथीहरूसँग रमाइलो अनुभव गरेका भए पनि खानेपानीको अभाव, जोखिमपूर्ण सडक र यातायातका कारण असहज महसुस भइरहेको बताएका छन् । उनीहरूले दुर्गम गाउँको जीवनशैली, अभाव र कठिनाइलाई नजिकैबाट बुझ्न पाएको अनुभव पनि बुधवार अायाेजित पत्रकार सम्मेलनमा सुनाएका छन् ।

शहरमा बसेर किताबी शिक्षा लिइरहेका विद्यार्थीलाई गाउँको जीवन र प्रकृतिसँग परिचित गराउने उद्देश्यले विकट क्षेत्रमा लगिएको विद्यालयले जनाएको छ । शिविरमा उनीहरूले आफैं खाना पकाउने, भाँडा माझ्ने, जंगलबाट दाउरा ल्याउने तथा बिहानै उठेर टाढाबाट पानी ल्याउने काम गर्नुपरेको छ । घोराही उपमहानगरपालिका १९ उपमहानगरकाेको हिस्सा भए पनि विकासका आधारभूत सुविधा नपुग्दा उनीहरू आश्चर्यचकित भएको बताउँछन् ।

खुला आकाशमुनि त्रिपालमा बस्दै विद्यार्थीहरूले दुना–टपरी बनाउने सीपसहित गाउँको पेशा, व्यवसाय, शिक्षा, स्वास्थ्य, रोजगार, आयआर्जन र जीवनशैलीबारे घर–घरमै पुगेर अध्ययन गरेका छन् । असाेज ६ गत्ते देखि शिविरमा बसिरहेका उनीहरूले बुधबार शिविरमै पत्रकार सम्मेलन गरी सबैभन्दा ठूलो समस्या खानेपानी रहेको बताएका छन् । ‘खानेपानी छैन, सिंचाइको त कुरै भएन, सडक र स्वास्थ्यचौकी पनि टाढा छ’ भन्दै उनीहरूले स्थानीय समस्याका बारेमा प्रश्नसमेत उठाएका थिए ।

घोराही–१९ सैघा पटिञ्जा र बंगलाचुली गाउँपालिका–२ मर्पेस यी दुबै क्षेत्रमा घरधुरी सर्वेक्षणका क्रममा धेरैजसो व्यक्ति विदेशमा रहेको र घरमा भेटिएकाहरू खेतीपाती र पशुपालनमा निर्भर रहेको विद्यार्थीहरूले बताएका छन् । वैकल्पिक पेशाका लागि सडक, यातायात, सिंचाइ र प्रविधि पु¥याउन उनीहरूले पत्रकार तथा जनप्रतिनिधिलाई आग्रह गरेका थिए । जनप्रतिनिधिहरूले विद्यार्थीहरूले देखेका समस्या यथार्थ रहेको स्वीकार गर्दै राज्यले सुनुवाइ नगरेकोमा चिन्ता व्यक्त गरे ।

गुरुकुल एकेडेमीले आफ्ना विद्यार्थीलाई आन्तरिक पाठ्यक्रमअनुसार हरेक वर्ष यस्तै क्लोज क्याम्प (बन्द शिविर)मा सहभागी गराउँदै आएको छ । विद्यालयका अनुसार शहरमा बसेर किताबी शिक्षा लिइरहेका विद्यार्थीलाई गाउँको जीवन र प्रकृतिको अनुभव दिलाउने यस्ता शिविरले उनीहरूलाई संघर्षशील र आत्मनिर्भर बनाउन मद्दत पुर्‍याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस