तुलसीपुर, ११ असोज । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) होमबहादुर पराजुलीले दशैं–तिहारलाई लक्षित सुरक्षा योजनालाई आफ्नो पहिलो प्राथमिकताका रूपमा कार्यान्वयन गर्ने घोषणा गरेका छन् ।

काज सरुवामार्फत तुलसीपुर पुगेका डीएसपी पराजुलीले शुक्रबार पत्रकारसँगको परिचयात्मक कार्यक्रममा शान्ति–सुरक्षा कायम राख्नु नै आफ्नो मुख्य लक्ष्य रहेको बताए । उनले तुलसीपुर क्षेत्रमा विद्यमान चुनौतीलाई अवसरका रूपमा लिन आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।

हालको जटिल परिस्थिति र बढ्दो चोरी–लुटपाटजस्ता घटनालाई नियन्त्रणमा ल्याउनेतर्फ आफूले विशेष ध्यान दिने उनको भनाइ थियो । ‘तुलसीपुर दाङको आधाभन्दा बढी क्षेत्र समेटिएको चुनौतीपूर्ण र पुलिसिङका हिसाबले महत्वपुर्ण इलाका हो भन्ने सुनेको छु,’ उनले भने, ‘हाम्रो पेशामा जति चुनौती हुन्छ, त्यति नै अवसर पनि हुन्छ ।’

प्रहरी ब्यारेक र सवारी साधनमा आगजनीजस्ता घटनाहरू भएका वर्तमान अवस्थामा स्थानीय नागरिकको सहयोग आवश्यक रहेको उनले बताए । ‘अन्य ठाउँमा कार्यालयहरू खरानी भएका छन्, कम्तीमा यहाँ भने त्यस्तो केही नभएकोमा म यहाँका जनतालाई धन्यवाद दिन चाहन्छु,’ पराजुलीले भने ।

प्रहरी र नागरिकबीचको सुमधुर सम्बन्धले मात्र समाजमा शान्ति–सुरक्षा कायम गर्न सकिने उल्लेख गर्दै उनले भ्रष्टाचार, लागुऔषध, चोरी लगायतका अपराध नियन्त्रणमा सामूहिक सहयोग अपरिहार्य हुने बताए । ‘प्रहरी पेसा मात्र होइन, यो जनसेवा पनि हो,’ उनले जोड दिए ।

सन् २०१२ मा स्थापना भएको प्रहरी सङ्गठनले जस्तोसुकै कठिन अवस्था पार गर्दै आएको स्मरण गर्दै पराजुलीले वर्तमान चुनौतीलाई अवसरका रूपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । तुलसीपुर क्षेत्रमा हुने जुवा, गुन्डागर्दी र लागुऔषध कारोबार न्यूनीकरणका लागि आफू सक्रिय रहने उनले बताए । ‘अहिले नै यो गर्छु, त्यो गर्छु भन्दिन, तर यहाँ रहेसम्म राम्रो काम गर्नेछु,’ उनले भने, ‘तपाईंहरूको निष्पक्ष सहयोग पनि आवश्यक छ, प्रहरीलाई सही सूचना दिनुहोस् ।’

भेटघाट तथा दशैंको शुभकामना आदानप्रदान कार्यक्रममार्फत पत्रकारहरूले नयाँ सरुवा भएर आएका डीएसपीलाई तुलसीपुर क्षेत्रका समस्या र सुधारका सम्भावनाबारे सुझाव दिएका थिए । कार्यक्रमको सहजीकरण प्रहरी नायब निरीक्षक भरतनाथ योगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस