दाङ, ११ असाेज । प्युठानकाे स्वर्गद्वारी नगरपालिका वडा नम्बर-०४ भिङ्ग्री सातमोडेमा रहेको सातमोडे सिचाइ पोखरीमा डुबेर आज (शनिवार) एक बालकको मृत्यु भएको छ ।
दाङ रामपुर घर भएका भिम बहादुर परियार र श्रीमती लक्ष्मी परियारका ८ वर्षीय छोरा बिनोद परियार लगाएत सहपरिवार प्युठानकाे भिङ्ग्री वरपरकाे क्षेत्रमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए । सनिबार पौडी खेल्ने क्रममा ८ वर्षीय छोरा बिनोद परियारकाे सातमोडे सिचाइ पोखरीमा डुबेर मृत्यु भएको हो ।
बिनोद परियार चन्द्रेश्वरी प्राथमिक विद्यालय भिङ्ग्री ४ प्यूठानमा कक्षा २ मा अध्ययन गर्दाै अाएका थिए । बिहानै दिदीसङ्ग नुहाइधुवाइ गर्नको लागि पोखरीमा गएका बिनोद दिदीसङ्ग ९ बजेतिर घर फर्किएर आएका थिए । त्यसपछि करिब बिहान १० बजेतिर फेरि एक्लै पोखरीमा नुहाउन गएका बिनोदलाई स्थानीय केटाकेटीले करिब बिहान ११:३० बजे पोखरीमा डुबेको अवस्थामा भेटाएर बाहिर निकालेको परिवारले पारिवारिक स्राेतले जनाएकाे छ ।
पाेखरीमा डुबेकाे बिनाेदलाइ स्थानीय केटाकेटीहरूले बाहिर निकालेर परिवारलाई खबर गरेका थिए । परिवारले खबर पाएपछि प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा ल्याउदा बालकको मृत्यु भइसकेको प्राथमिक स्वास्थ्य केन्द्रले जानकारी दिएको छ । बालकको मृत्यु भएपछि अन्य आवश्यक प्रक्रिया पूरा गरेर शव परिवारकै जिम्मा लगाउने तयारी भएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जनाएको छ ।












