दाङ, १० भाद्र। लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले निजी विद्यालयका मागप्रति सकारात्मक रहेको बताउनुभएकाे छ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङले विद्यालय शिक्षा विधेयकमा रहेका केही बुँदा निजी विद्यालयको हित विपरीत रहेका विषयमा तयार पारेको ज्ञापनपत्र बुझ्दै मन्त्री न्यौपानेलाई निजी विद्यालयका मागप्रति सकारात्मक रहेको बताउनुभएकाे हाे।
‘शिक्षामा निजी क्षेत्रको योगदानलाई राज्यले सकारात्मक रूपमा मूल्याङ्कन गर्नुपर्छ ।  निजी विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदान राज्यले अवमूल्यन गर्नु हुँदैन र गर्न पनि सक्दैन ।  शिक्षा क्षेत्रलाई नीतिगतरूपमा निष्पक्ष ढङ्गले सम्बोधन गर्न राज्य तयार रहनुपर्छ । प्रतिनिधि सभामा पेस भएको विद्यालय शिक्षा विधेयकका केही बुँदामा निजी विद्यालय सञ्चालकहरुको असहमति रहेको छ । ती असहमति र आपत्तिका बुँदालाई राज्यले संवादमार्फत समाधान गर्नुपर्छ । प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने र खेल्नुपर्ने भूमिकामा कुनै कमी रहने छैन । निजी क्षेत्रका चासो र सरोकारलाई सम्बोधन गर्न प्रदेश सरकार संवेदनशील रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’ मन्त्री न्यौपानेले बताउनुभयाे ।

प्याब्सन दाङले विद्यालय शिक्षा विधेयकमा रहेका केही बुँदा निजी विद्यालयको हित विपरीत रहेको भन्दै मन्त्री न्यौपानेलाई ज्ञापन पत्र बुझाएको थियो  ।

सोमबार मन्त्री न्यौपानेलाई भेट्दै प्याब्सन दाङ तथा प्याब्सन लमही, प्याब्सन राप्तीका पदाधिकारीहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधान कार्यान्वयन भएमा निजी विद्यालयहरू प्रभावित हुने दाबी गरेका हुन् । ज्ञापन पत्रमार्फत उनीहरूले निजी विद्यालयको अस्तित्व र शैक्षिक गुणस्तरमा प्रत्यक्ष असर पर्ने बुँदाहरू सच्याउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस