घाेराही, २३ माघ । घोराही उपमहानगरपालिका–१३ बडहरामा अवस्थित प्रज्ञान एकेडेमीको प्रथम वार्षिकोत्सव शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरि सम्पन्न भएको छ ।

प्रज्ञान एकेडेमीका बोर्ड अफ डाइरेक्टरका अध्यक्ष आइतमाली विकको अध्यक्षता एवम् महिला सामुदायिक सेवा केन्द्रकी अध्यक्ष तथा समाजसेवी विमला योगीकाे प्रमुख आतिथ्यतामा वार्षिकोत्सव भएकाे थियाे । प्रमुख अतिथि योगीले शिक्षा समाज रूपान्तरणको मुख्य आधार भएको धारणा राख्दै निजी विद्यालयहरूले गुणस्तरीय शिक्षासँगै संस्कार र सीप विकासमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले प्रज्ञान एकेडेमीले यस दिशामा गरेको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथि  नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले निजी विद्यालयहरुले शिक्षासँगै सिर्जनशीलता र सामाजिक उत्तरदायित्वलाई जोड्नुपर्ने बताउनुभयो। प्याब्सन लुम्बिनी प्रदेश उपाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि  अमर सुवेदीले विद्यालयको उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले निजी क्षेत्रको शिक्षाले दाङको शैक्षिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

वार्षिकोत्सव समाराेहमा प्याब्सन घोराही नगर उपाध्यक्ष तथा गोरखा इन्टरनेसनल पब्लिक स्कुलका प्रिन्सिपल मानसिंह घर्ती, मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुलका प्रिन्सिपल चक्र रावत लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

कार्यक्रममा जिके स्टार  अफ द इयर २०८२ बाट कक्षा ८ की छात्रा ज्योति दर्लामीलाई नगद दुई हजार पाँच सय र ट्रफीद्वारा पुरस्कृत गरिएको थियो । उक्त अवसरमा खेल सप्ताहअन्तर्गत विभिन्न विधाका प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो। कार्यक्रममा तेक्वान्दो डेमो, विद्यार्थीका आकर्षक नृत्य, योगा प्रदर्शन तथा शिक्षकहरूको सामूहिक नृत्य समेत प्रस्तुत गरिएकाे थियो।

प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित अभिभावकहरूको मत्रीपूर्ण कुर्सी दौड प्रतियोगितामा प्रथम हुने पुष्पा विक, द्वितीय हुने लालकुमारी विक र तृतीय हुने अमृत परियारलाई पुरस्कृत गरिएकाे थियाे । त्यसैगरी घैटोफोड प्रतियोगिताका विजेता अमृता बुढा मगरलाई पनि पुरस्कृत गरिएको थियो ।

वार्षिकोत्सव समाराेहमा विद्यालयका प्रिन्सिपल विरेन्द्र चन्दले विद्यालयकाे वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक उपलब्धि, भावी योजना तथा पूर्वाधार विकासका बारेमा जानकारी गराउनुभयो। ईसीए कोअर्डिनेटर राजेन्द्र चन्द र विद्यार्थी ज्योति दर्लामीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका भाइस प्रिन्सिपल नवराज खत्रीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस