घाेराही, २९ माघ । घाेराही उपमहानगरपालिका १७ गुलरिया स्थित मदन भण्डारी मेमाेरिल स्कुलले बिहीबार २३ औं वार्षिकोत्सव मनाएकाे छ। शैक्षिक सार्वजनिक गुठीका रुपमा वि.सं. २०५९ सालमा स्थापित विद्यालयले विविध कार्यक्रम गरि वार्षिकोत्सव मनाएकाे हाे । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज अधिकारीकाे अध्यक्षता एवम् घाेराही उपमहानगरपालिका सामाजिक विकास समिति संयाेजक राममणि पाण्डेकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे थियाे । उक्त अवसरमा विद्यालयले आयाेजना गरेका खेलकुद प्रतियोगिताका खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएकाे थियाे । यसैगरी विभिन्न विधाका वर्ष उत्कृष्ट छात्रछात्राहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।

वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले विज्ञान प्रदर्शनी, गीत तथा विभिन्न माैलिक लाेक संस्कृति झल्कने भेषभुषामा नृत्य समेत प्रस्तुत गरेका थिए । सात वर्षअघि कैलालीमा नाबालिका निर्मला पन्तकाे बलात्कारपछिकाे हत्याकाे विषयमा न्यायकाे माग गर्दै विद्यालयका छात्राहरुले कारुनिक र हृदयस्पर्शी नृत्य प्रस्तुत गर्दा अतिथि र अभिभावकहरु भावुक भएका थिए । उक्त अवसरमा विद्यार्थीहरुले जङ्क फुड र माेबाइलकाे दुरुपयाेगका कारण परिवारमा पर्ने नकारात्मक प्रभावका विषयमा सन्देशमुलक नाटक समेत मन्चन गरेका थिए ।

विद्यालयका भाइस प्रिन्सिपल तारा चाैधरीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे वार्षिकोत्सवमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, प्रेस काउन्सिल नेपालका निवर्तमान सदस्य शरद अधिकारी, प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्द, सचिव आदिम केसी, घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियाे ।

विद्यालयका प्रिन्सिपल विमल भण्डारीले विद्यालयले गरेका शैक्षिक, भाैतिक तथा सामाजिक गतिविधि र विभिन्न खेलकुद प्रतियोगिताहरुमा प्राप्त गरेका सफलताका बारेमा जानकारी गराउनुभएकाे थियाे । कार्यक्रमकाे सञ्चालन विद्यार्थीद्वय विपिन चाैधरी र युस्कि राेकाले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस