विमल याेगी
दाङ, ३ फागुन । दाङकाे धारपानीमा आज आइतबार महाशिवरात्री मेला लागेकाे छ । आज बिहानैदेखि मन्दिर दर्शन तथा पुजाआजा गर्ने भक्तजनहरूकाे निकै ठुलाे घुइचाे लागेकाे थियाे ।
मेलालाई व्यवस्थित बनाउन गठन गरिएका विभिन्न १६ वटा उपसमिति, सुरक्षाकर्मी बाहेक तीन सय ५१ जना स्वंयसेवक परिचालन गर्दा मेला सभ्य, शान्त र व्यवस्थित भएकाे समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभयाे । मेलामा विहान ९ बजेर ३७ मिनेटदेखि साडे १० बजे सम्मकाे साईत पारेर शिवपुजन तथा त्रिशुल सलामी दिईएकाे थियाे ।
समितिका अध्यक्ष गणेश कुमार अधिकारीकाे अध्यक्षतामा भएको शिवपुजन कार्यक्रमकाे उद्घाटन दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले गर्नुभएको थियाे । मेलामा विभिन्न भजनकृतन, नाचगान तथा नाैमती पञ्चेबाजा समुह घाेराही १३ ले नाैमती पञ्चेबाजा, नेपाल ज्याेतिष परिषद, धामी झाँक्री समुहले तान्त्रिक झाँकी प्रस्तुत गरेकाे थियाे ।

साे अवसरमा घाेराही उप महानगरपालिकाकाे स्वास्थ्य शाखाकाे आयाेजना, स्वास्थ्य कार्यालय दाङ र गाेरखा हस्पिटल लगायत बिभिन्न संघसंस्थाहरूकाे समन्वय तथा सहकार्यमा नसर्ने राेगकाे स्क्रिनिङ शिविर सञ्चालन भएको थियाे । शिविरमा प्राथमिक उपचार, मनाेसामाजिक परामर्श, उच्च रक्तचाप, मधुमेह सुगर, मृगौला, उचाइ अनुपातमा ताैल लगायतकाे परिक्षण, परामर्श तथा प्रेसन गरिएकाे शाखा प्रमुख राधा पाैडेलले जानकारी दिनुभयाे ।
मेलामा भूतपूर्व सैनिक संघले निशुल्क शुद्ध पानी खुवाएकाे थियाे । मेलामा दाङ र आसपासका जिल्लाबाट हजाराै भक्तजनकाे उपस्थिति रहेकाे थियाे ।












