बिमला केसी
दाङ, १५ फाल्गुन । घोराही उपमहानगरपालिका–१६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा शुक्रबार महिनावारी र बालबिबाह सम्बन्धी सचेतनामूलक अभिमुखिकरण प्रशिक्षण दिइएको छ ।
विद्यालयमा गठित किशोरी क्लबका अध्यक्ष करिना जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख राधा पौडेलले प्रशिक्षण दिनुभएको थियो । कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरुलाई महिनावारी र बालबिबाह सम्बन्धि सचेतनामूलक प्रशिक्षण दिइएको थियाे।
कार्यक्रममा पौडेलले महिनावारीका समयमा सरसफाई सम्बन्धी ख्याल गर्नुपर्ने कुरा, किशोरावस्थामा हुने समस्या र स्वास्थ्य शिक्षा सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । यसैगरी बालविवाह र यसका असर सम्बन्धी प्रशिक्षण दिंदै उहाँले किशोरकिशोरीले बालबिबाहबाट बच्न सचेत हुनुपर्नेमा जाेड दिनुभएको थियो ।
बाल क्लबका कोषाध्यक्ष शिखा पोख्रेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण किशोरी क्लबकी सचिव शान्ती नेपालीले गर्नुभएको थियो । बिद्यालयले हरेक शुक्रबार विभिन्न बिषयमा चेतनामुलक र सिर्जनशील कार्यक्रम गर्दै आएको छ ।











