दाङ, १५ फाल्गुन । घोराही उपमहानगरपालिका–१६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा शुक्रबार महिनावारी र बालविवाहसम्बन्धी प्रशिक्षण दिइएको छ । किशोरी क्लबका अध्यक्ष करिना जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख राधा पौडेलले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा पौडेलले महिनावारीका समयमा सरसफाइमा विशेष ध्यान दिनुपर्ने, नियमित रूपमा सफा सेनेटरी प्याड प्रयोग गर्नुपर्ने र व्यक्तिगत स्वच्छता कायम राख्नुपर्ने विषयमा जानकारी दिनुभएको थियो । उहाँले महिनावारी प्राकृतिक प्रक्रिया भएकाले यसलाई लाज वा डरको विषय नबनाई खुला रूपमा बुझ्न र छलफल गर्न आवश्यक रहेको बताउनुभयो । साथै किशोरावस्थामा देखिने शारीरिक तथा मानसिक परिवर्तन, पोषणको आवश्यकता र स्वास्थ्य सुरक्षासम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गर्नुभएको थियो ।

यसैगरी बालविवाह र यसका नकारात्मक असरबारे जानकारी दिँदै उहाँले बालविवाहले शिक्षा, स्वास्थ्य र भविष्यमा गम्भीर असर पार्ने भएकाले यसबाट टाढा रहन सबै किशोरकिशोरी सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बालविवाह कानुनतः दण्डनीय अपराध भएको उल्लेख गर्दै यसविरुद्ध आवाज उठाउन र सचेतना फैलाउन आग्रह गर्नुभयो ।

प्रशिक्षणमा सहभागी किशोरी तथा किशोरहरूले महिनावारीसम्बन्धी मिथक र भ्रम हटाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका थिए । उनीहरूले प्रशिक्षणबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो स्वास्थ्यप्रति सचेत रहने बताएका थिए । कार्यक्रममा सहभागीहरूले आफ्ना जिज्ञासा राख्दै प्रशिक्षकसँग अन्तरक्रियात्मक छलफल गरेका थिए ।

बाल क्लबका कोषाध्यक्ष शिखा पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण किशोरी क्लबकी सचिव शान्ती नेपालीले गर्नुभएको थियो । विद्यालयका शिक्षकहरूले यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै सामाजिक कुरीति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । विद्यालयले हरेक शुक्रबार विभिन्न विषयमा चेतनामूलक, शैक्षिक तथा सिर्जनशील कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस