घाेराही, २६ फाल्गुन । राेटरी क्लब अफ दाङद्वारा आयाेजित राेटरी हाजिरी जवाफ प्रतियोगितामा गाेर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल प्रथम भएकाे छ।

स्वर्गीय विष्णुप्रसाद शर्मा घिमिरेकाे स्मृतिमा मंगलबार घाेराहीमा आयाेजित मावि स्तरीय राेटरी क्विज कन्टेस्ट २०२६ काे विजेता गाेर्खा स्कुल भएकाे हाे । उक्त प्रतियोगितामा माउन्ट भ्यू बाेर्डिङ स्कुल द्वितीय भएकाे छ भने मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुल तृतीय भएकाे छ। यसैगरी उक्त प्रतियाेगितामा ज्ञानाेदय इङ्लिस बाेर्डिङ स्कुल र ज्ञानमाला एकेडेमीले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

घाेराही उपमहानगरपालिका भित्र रहेका मावि तहका १६ ओटा सामुदायिक तथा संस्थागत विद्यालयहरुकाे सहभागीता रहेकाे प्रतियोगितामा प्रथम विजेता समुहलाई नगद दस हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएकाे थियाे । यसैगरी, उक्त प्रतियोगिताका द्वितीयलाई सात हजार, ट्रफि, मेडल र प्रमाणपत्र, तृतीयलाई पाँच हजार, ट्रफि, मेडल र प्रमाणपत्र तथा सान्त्वना स्थान प्राप्त गर्ने समुहलाई नगद एकएक हजार र प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।

कार्यक्रमका प्रमुख अतिथि घाेराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेश कुमार पाण्डेले विद्यार्थीहरुकाे बाैद्धिक क्षमता विकासमा यस्ता कार्यक्रमहरु महत्वपूर्ण रहने बताउनुभयो । उहाँले प्रतिस्पर्धामा हारजीत प्राविधिक पाटाे भएकाले सिकाइ नै महत्त्वपूर्ण रहेकाे बताउनुभयाे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवम् घाेराही बनाउ अभियानका संयाेजक सविन प्रियासनले आगामी वर्षदेखि आफुहरुले पनि विद्यार्थी केन्द्रीत पृथक कार्यक्रम गर्ने उल्लेख गर्दै प्रतियोगि विद्यार्थीहरुलाई सहभागीताका लागि आग्रह गर्नुभयाे । प्रियासनले सामुदायिक तथा संस्थागत विद्यालयहरुसँग सहकार्य गरेर विद्यार्थीहरुलाई सीप विकाससँगै उत्पादन र आयआर्जनमा प्रत्यक्ष सहभागीता हुने गरि आफुहरुले याेजना बनाएकाे बताउनुभयो ।

उक्त कार्यक्रममा बाेल्दै प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओलीले विद्यार्थीहरुकाे क्षमता प्रदर्शनका लागि प्याब्सनले विभिन्न कार्यक्रम गरिरहेकाे स्मरण गराउँँदै राेटरी क्लब अफ दाङ लगायतका संघसंस्थाहरुले पनि विद्यार्थी केन्द्रित प्रतियोगिता सञ्चालन गरेकाेमा प्रशंसा गर्नुभयाे ।

राेटरी क्लब अफ दाङका अध्यक्ष राेशन दाहालकाे अध्यक्षतामा भएकाे प्रतियोगितामा क्लबका सदस्य पदम केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएकाे थियाे भने सहजीकरण उपाध्यक्ष बुद्धिप्रकाश शर्माले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस