घाेराही, २९ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) घाेराही नगर कमिटीको आयाेजनामा प्रधानाध्यापक भेला शुक्रबार सम्पन्न भएकाे छ।

प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् जिल्ला अध्यक्ष निर्मल न्याैपानेकाे प्रमुख आतिथ्यतामा भएकाे भेलाले शैक्षिकसत्र २०८३ काे वार्षिक क्यालेन्डर अनुमाेदन गरेकाे छ। उपाध्यक्ष मानसिंह घर्ती संयाेजक, सचिव विमल भण्डारी र प्रवक्ता महेश बस्नेत सदस्य रहेकाे क्यालेन्डर निर्माण समितिले पेश गरेकाे वार्षिक कार्ययोजना सहितकाे क्यालेन्डर प्रअ भेलाले केही कार्यक्रमहरु परिमार्जन गरि अनुमाेदन गरेकाे हाे ।
भेलाले प्याब्सनकाे नियमावली २०७८ काे अनुसूची ९ मा व्यवस्था भएअनुसार शैक्षिकसत्र २०८३ मा विद्यार्थी भर्ना गर्दा आचारसंहिता अनिवार्य पालना गर्न निर्देशनात्मक निर्णय गरेकाे छ। यसैगरी वार्षिक क्यालेन्डर २०८३ मा समाविष्ट कक्षा ८ काे घाेराही नगर स्तरीय बिएलइ प्राक्टिस परीक्षा आगामी फागुन २ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेकाे छ।
भेलाले प्याब्सन केन्द्रीय शिक्षा मन्दिरकाे ऋण माेचनका लागि सदस्य विद्यालयहरुले सहयाेग रकम उपलब्ध गराउने निर्णय गरेकाे छ। केन्द्रले ताेके अनुसार पूर्व प्राथमिक तहका विद्यालयले तीन हजार, आधारभूत तहसम्मका विद्यालयले पाँच हजार, मावि तहका विद्यालयले सात हजार र पाँच सयभन्दा कम विद्यार्थी भएका मावि तहका विद्यालयले पाँच हजार रुपैया उपलब्ध गराउनुपर्नेछ ।
उपाध्यक्ष मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे भेलालाई जिल्ला अध्यक्ष निर्मल न्याैपाने, वरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्द लगायतले सम्बाेधन गर्नुभएकाे थियाे । भेलामा विभिन्न विद्यालयबाट सहभागी प्रिन्सिपलहरुले एजेन्डामाथि आ-आफ्ना धारणा राख्नुभएको थियाे । उक्त भेलाकाे सहजीकरण नगर सहसचिव सन्दिप शाहले गर्नुभएको थियाे ।












