घोराही, १ चैत्र । घोराही बनाऔं अभियानले घोराही–तुलसीपुर सडक खण्डमा पर्ने फोरलेन सडक निर्माणको कामलाई द्रुत गतिमा अगाडी बढाउन माग गरेको छ ।
अभियानको टोलीले डिभिजन सडक कार्यालय दाङमा पुगेर फोरलेन सडक र सोही सडकमा बनि रहेका पुल निर्माणको कामलाई पहिलेको भन्दा पनि द्रुत गतिमा अगाडी बढाउन माग गरेको हो । निर्वाचन पछि सडक निर्माणको कार्यमा ढिला सुस्त भैरहेको गुनासोहरु सामाजिक सञ्जालमा बढेको भन्दै अभियानले सम्बन्धित निकायलाई यस कुराको ध्यानाकर्षण गराएको हो ।
घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा डिभिजन सडक कार्यालय पुगेको टोलीले कार्यालयसँग यस विषयमा विशेष छलफल गरेको छ । छलफल पश्चात् अभियानको तर्फबाट कार्यालयलाई ज्ञापनपत्र समेत बुझाईको थियो । डिभिजन सडकका प्रवक्ता इन्जिनियर अशोक चौधरीले ज्ञापनपत्र बुझ्दै समयमा नै फोर लेन सडक र पुल निर्माणको काम सम्पन्न गर्न आफूहरू गम्भीरताका साथ लागिपरेको बताउनुभयो l
सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केल बुढाथोकी, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य चिन्तामणि पौडेल, राष्ट्रिय खेलाडी बिरुभाइ बज्राचार्यलगायतको उपस्थिति रहेको थियो l












