घाेराही, २५ चैत ।
मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८२ बुधबार घाेराहीमा उद्घाटन गरिएकाे छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भलिबल हस्तान्तरण गरि उद्घाटन गर्नुभएकाे प्रतियोगितामा लुम्बिनी प्रदेशका बाह्र जिल्लाका टिम सहभागी भएकाछन् ।

प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको आयोजनामा दाङकाे घाेराहीमा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेलाडीहरूको योगदानले प्रदेशको शिर उँचो बनाएको बताउनु भयाे । उहाँले खेलकुदले अनुशासन सिकाउने, व्यक्तिलाई आत्मअनुशासित बनाउने र राष्ट्रप्रति बफादार नागरिक तयार पार्ने माध्यम भएको उल्लेख गर्नुभएकाे छ ।

खेलकुदमार्फत युवालाई सही मार्गमा ल्याउन सकिने धारणा उहाँकाे छ । उहाँले खेलकुदकाे माध्यमबाट आर्थिक गतिविधि बढ्ने र स्वास्थ्य प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयाे ।`स्वास्थ्यका निम्ति खेल, राष्ट्रका निम्ति खेल´भन्ने भावनासहित सधैं स्वस्थ, अनुशासित र खुशी जीवनतर्फ अग्रसर हुन उहाँले आग्रह गर्नुभयाे ।

प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणदाज गाैतमकाे अध्यक्षता तथा मुख्यमन्त्री आचार्यकाे प्रमुख आतिथ्यतामा भलिबल प्रतियोगिताकाे उद्घाटन गरिएको हाे । प्रतियोगितामा प्रदेशका प्रत्येक जिल्लाबाट महिला तथा पुरुष टोली सहभागी भएका छन् । प्रत्येक टोलीमा १० जना खेलाडी र एक जना प्रशिक्षक रहने व्यवस्था गरिएको छ । खेल अन्तर्राष्ट्रिय भलिबल महासंघको नियमअनुसार सञ्चालन गरिनेछ भने लिग कम नकआउट प्रणालीमा प्रतिस्पर्धा गराइनेछ ।

प्रतियोगिताका विजेताले नगद १ लाख रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । द्वितीय हुने टोलीले ६५ हजार, तृतीयले ३५ हजार र सान्त्वना हुने टोलीले १५ हजार रुपैयाँसहित प्रमाणपत्र पाउनेछन् ।

उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही ५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिनेछ ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा र घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले शुभकामना व्यक्त गर्नुभएकाे थियाे । प्रदेश खेलकुद परिषदका काेषाध्यक्ष मुक्तिप्रसाद न्याैपानेले उद्घाटन समाराेहकाे सहजीकरण गर्नुभएको थियाे ।

यसैबीच आज भएकाे पुरषतर्फकाे पहिलाे खेलमा गुल्मीले दाङलाई ३-० काे साेझाे सेटमा पराजित गरेकाे छ। यसैगरी पाल्पा र बाँकेबीच भएकाे दाेस्राे खेलमा पाल्पा ३-० काे साेझाे सेटले विजयी भएकाे छ। राेल्पा र नवलपरासीबीच भएकाे खेलमा ३-१ काे सेटमा नवलपरासी विजयी भएकाे छ भने अर्घाखाँची र बर्दियाबीच भएकाे खेलमा अर्घाखाँचीले बर्दियालाई ३-० काे साेझाे सेटमा पराजित गरेकाे छ।

महिलातर्फकाे पहिलाे खेलमा पाल्पाले नवलपरासीलाई ३-० काे साेझाे सेटमा पराजित गरेकाे छ भने दाेस्राे खेलमा ३-० काे साेझाे सेटमा प्युठानलाई रुपन्देहीले पराजित गरेकाे छ। यसैगरी राेल्पा र रुकुम पूर्वबीच भएकाे खेलमा ३-१ ले राेल्पा विजय भएकाे छ भने बाँकेले कपिलवस्तुलाई ३-० काे साेझाे सेटमा पराजित गरेकाे छ।

भाेली बिहीबार पुरुषतर्फ दाङ र रुकुम पूर्वबीच पहिलाे खेल हुँदैछ भने महिलातर्फकाे पहिलाे खेल नवलपरासी र दाङबीच हुँदैैछ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस