बर्दिया, २९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मानिसमा सेवाको भावना विकास गर्दै समाज परिवर्तन गर्न सकिने बताउनुभएको छ ।

श्रीकृष्ण प्रणामी मन्दिर एकाई सेवा समितिले मधवुन–४ ढोढरी, बर्दियामा ८ औं बार्षिकोत्सव तथा गुरु श्यामदासजीको ३२ औं बार्षिक पुण्य तीथिको अवसरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री आचार्यले समाज रुपान्तरण गर्न, समाजमा रहेका बैरभाव अन्त्य गर्न तथा सकारात्मक सिद्धान्तलाई जनतास्तरसम्म पु¥याउन आवश्यक रहेको बताउनुभएको हो । उहाँले अहिले समाज विकृति र विसंगतितर्फ उन्मुख हुनुमा धर्म, संस्कृति र नैतिक शिक्षाबाट टाढा हुनु मुख्य कारण रहेको उल्लेख गर्नुभयो ।‘हामीले धर्म भुल्यौं । संस्कृतिको नास ग¥यौं । पुर्खाहरुले अवलम्बन गरेका राम्रा कुराहरुलाई नराम्रो देख्न थाल्यौं,’ उहाँले भन्नुभयो,‘नैतिक शिक्षालाई च्यात्दा गर्व गर्न थाल्यौं । संस्कृतिको किताब च्यात्दा आफुलाई ठूलो क्रान्तिकारी ठान्यौं । त्यसैको परिणाम आज मुलुक अराजकतर्फ उन्मुख भएको छ ।’

मुख्यमन्त्री आचार्यले समाजलाई फेरि नेपालीपनसँग जोड्न आवश्यक रहेको बताउँदै एक नेपालीलाई दुःख पर्दा अर्को नेपालीले पनि त्यसको पीडा महसुस गर्ने सामाजिक संस्कारको पुनःस्थापना गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले योग र आराधनाबाट स्वस्थ समाज निर्माण गर्न सकिने उल्लेख गर्दै संघीयतापछिको परिवर्तनलाई वस्तुगत ढंगले मूल्यांकन गर्न आग्रह गर्नुभयो ।‘बर्दिया पहिले कस्तो थियो र अहिले कस्तो भयो भन्ने ठोस मूल्यांकन गर्न जरुरी छ,’ उहाँले भन्नुभयो, ‘विकास निर्माणमा ठूलो परिवर्तन आएको छ । तर गलत ढंगले भ्रम छर्ने काम भयो र त्यसको परिणाम अहिले भोगिरहेका छौं ।’ मुख्यमन्त्री आचार्यले निर्णय गर्दा सही र गलत छुट्याउन सक्नुपर्नेमा जोड दिँदै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि विगतमा सरकारले काम गरिरहेको तर, वर्तमान संघीय सरकारले ति कामहरुलाई विथोल्नेगरी भूमिका अगाडी बढाएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना ले समाज सुधारका लागि नैतिक शिक्षालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना बनाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस