दाङ, ३ जेठ । लुम्बिनी प्रदेश स्तरीय १६औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि दाङले हात पारेको छ । घरेलु मैदानमा सम्पन्न प्रतियोगितामा सर्वाधिक पदक जित्दै दाङ प्रथम हुन सफल भएको हो ।
प्रतियोगिताको अन्तिम परिणाम अनुसार पदक तालिकाको शीर्ष स्थानमा रहँदै दाङले च्याम्पियनसिप ट्रफी चुमेको छ । बाँके जिल्ला उपविजेता बन्दा रुपन्देही तेस्रो स्थानमा समेटिएको छ ।
लुम्बिनी प्रदेश खेलकुद विकास परिषदद्वारा आयोजित प्रतियोगितामा दाङले २७ स्वर्ण, १७ रजत र १२ कास्यसहित कुल ५६ पदक जितेर आफ्नो बर्चस्व कायम गर्यो ।
प्रतियोगितामा बाँके जिल्ला १० स्वर्ण, १२ रजत र १३ कास्यसहित कुल ३५ पदक जितेर दोस्रो स्थानमा रहन सफल भयो । त्यस्तै, रुपन्देही जिल्लाले १० स्वर्ण, ६ रजत र ११ कास्यसहित कुल २७ पदक जित्दै तेस्रो स्थान सुरक्षित गर्यो ।
प्रतियोगितामा भलिबल, तेक्वान्दो, कराँते, उसु, कबड्डी र एथ्लेटिक्स विधाका खेलहरु समावेश थिए ।
प्रतियोगिताका विजयी जिल्ला तथा खेलाडीहरूलाई समापन समारोहमा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । यस प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडीहरूले अब राष्ट्रिय स्तरमा आयोजना हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।












