दाङ, १४ जेठ । महिनावारी स्वच्छता दिवसको अवसरमा घोराहीवडा नम्बर ४ को कार्यालय लक्ष्मीपुरमा बृहत् यौनिकता शिक्षा तथा महिनावारी स्वच्छता सम्बन्धी विशेष सचेतीकरण कार्यक्रम आयोजना हुने भएको छ । नेपाल परिवार नियोजन संघ (एफपिएन) र लक्ष्मीपुर युवा क्लब, दाङको संयुक्त आयोजनामा भोलि जेठ १४ गते बिहीबार कार्यक्रम हुन लागेको हो ।
‘महिनावारीमैत्री समाजका लागि सहकार्य’ भन्ने मुख्य नाराका साथ आयोजना हुन लागेको कार्यक्रम घोराही उपमहानगरपालिका वडा नं. ४ स्थित वडा कार्यालयको हलमा बिहान १० बजेदेखि सुरु हुने आयोजकले जानकारी दिएको छ । ग्रामीण क्षेत्रका किशोर-किशोरी र महिलाहरूलाई लक्षित गरी कार्यक्रमको आयोजना गरिएको लक्ष्मीपुर युवा क्लबका हिमाल पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा महिनावारीका विषयमा समाजमा व्याप्त संकुचित सोच र भ्रमहरूलाई चिर्न खुला संवादको सुरुवात गरिने बताइएको छ । किशोरीहरूको स्वास्थ्यलाई सबल बनाएर मात्रै सक्षम समाज निर्माण गर्न सकिने अवधारणा सहित कार्यक्रममा वैज्ञानिक यौनिकता शिक्षा, आफ्नो अधिकार र जिम्मेवारीको बोध एवं महिनावारीको समयमा कायम गर्नुपर्ने स्वास्थ्य रक्षा, मर्यादा र सम्मानका विषयमा विस्तृत छलफल र परामर्श प्रदान गरिनेछ ।
अभियानलाई थप प्रभावकारी र व्यापक बनाउन आयोजकले सामाजिक सञ्जालहरूमा समेत डिजिटल सचेतना अभियान संचालन गर्ने जनाएका छन् । यस किसिमको सचेतीकरण कार्यक्रमले समाजमा महिनावारी स्वच्छता र जनस्वास्थ्यको स्तर उकास्न ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ ।












