oplus_2

विमल याेगी
दाङ,२९ साउन । विश्वकै सबैभन्दा ठूलो त्रिशूल अवस्थित दाङको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल घोराही उपमहानगरपालिका–५, धारपानीस्थित श्री पाण्डवेश्वर महादेव मन्दिर प्राङ्गणमा सञ्चालन हुने ‘शिवपुराण तथा श्रृङ्गारिक महाआरती’ को तयारी अन्तिम चरणमा पुगेकाे छ ।

मन्दिर व्यवस्थापन समितिले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी साउन १ गतेदेखि भदौ १ गतेसम्म एक महिना मन्दिर परिसरमा सञ्चालन हुने ‘शिवपुराण तथा श्रृङ्गारिक महाआरती’ को सम्पूर्ण तयारी र विस्तृत कार्यक्रम तालिका सार्वजनिक गरेको हो।अनुष्ठान अवधिभर देश-विदेशबाट दर्शनार्थीहरूलाई लक्षित गरी मन्दिर प्राङ्गणमै ‘निःशुल्क भण्डारा’ (भोजन) को व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले दाङको धार्मिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रवर्द्धन गर्ने उद्देश्यले यो वृहत् धार्मिक अनुष्ठानको आयोजना गरिएको बताउनुभयो। “साउन महिना भगवान् शिवको प्रिय महिना भएकाले यसपटक भारतको बनारसबाट आउने प्रसिद्ध गुरुज्यूहरूद्वारा दैनिक सङ्गीतमय श्रृङ्गारिक महाआरती गरिनेछ,” अध्यक्ष अधिकारीले भन्नुभयो, “यसका साथै अनुष्ठान अवधिभर ‘एक करोड दीप प्रज्ज्वलन’ गर्ने हाम्रो मुख्य सङ्कल्प रहेको छ, जसले भक्तजनहरूमा अभूतपूर्व आध्यात्मिक जागरण ल्याउने विश्वास लिएका छौँ।”

मन्दिरका सचिव विष्णुराम आचार्यले वृहत् गुरुयोजना अन्तर्गत पूर्वाधार निर्माण कार्य भइरहेको जानकारी दिनुभयो। मन्दिर क्षेत्रमा १०८ गौमुखी धारा, पार्क र तलाउ निर्माण भइसकेको उल्लेख गर्दै सचिव आचार्यले भन्नुभयो, “हामीले अब सुनकोट डाँडासम्म झन्डै ५ हजार सिँढी र ३१ क्विन्टलको विशाल घण्ट निर्माण गर्ने ऐतिहासिक योजना अघि बढाएका छौँ। साउन महिनाभर चल्ने निःशुल्क भण्डारा र यी दीर्घकालीन पूर्वाधारहरूलाई पूर्णता दिन सम्पूर्ण आम नागरिक र मनकारी दाताहरूबाट अन्नदान तथा अक्षयकोषका लागि आर्थिक सहयोगको अपिल गर्दछौँ।”

एक महिनासम्म चल्ने धार्मिक महोत्सवमा देशका प्रख्यात पण्डित श्री नरेश नेपालको प्रमुख वाचकत्वमा शिव महापुराणको कथा वाचन हुनेछ। तालिका अनुसार दैनिक रूपमा बिहान ४ बजेदेखि नित्य पूजा, ११ बजेदेखि दिउँसो ४ बजेसम्म कथा वाचन, र साँझ ८ बजेदेखि ९ बजेसम्म बनारसका गुरुज्यूहरूबाट विशेष महाआरती सञ्चालन हुनेछ।भक्तजनहरूले तोकिएको शुल्क बुझाई रुद्राभिषेक, लघु रुद्री, लक्षवर्तिका, चौरासी पूजा जस्ता अनुष्ठानहरू गर्न सक्ने र आर्थिक सहयोग गर्ने दाताहरूलाई दान रकमका आधारमा नाम मार्किङदेखि विशेष सम्मान गरिने आयोजकले जनाएको छ । शिवपुराण तथा श्रृङ्गारिक महाआरती कार्यक्रमलाई व्यवस्थित, भव्य र सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरिएको छ।

मूल समारोह समितिको निर्णयअनुसार कार्यक्रम व्यवस्थापनका लागि अतिथि सत्कार, पूजा व्यवस्थापन, आर्थिक सङ्कलन, प्रचारप्रसार, सुरक्षा, भान्सा, आवास तथा अन्य आवश्यक क्षेत्रमा केन्द्रित १३ वटा उपसमिति गठन गरिएको हो।

गठित उपसमितिअन्तर्गत अतिथि सत्कार उपसमितिको संयोजकमा निम बहादुर चौधरी, आरती तथा पूजा व्यवस्थापन उपसमितिको संयोजकमा शारदा पोख्रेल, आर्थिक सङ्कलन उपसमितिको संयोजकमा सह–सचिव विमल अधिकारी तथा आर्थिक परिचालन तथा सामान खरिद उपसमितिको संयोजकमा बाेधिलाल शर्मा चयन हुनुभएको छ।

त्यसैगरी भान्सा व्यवस्थापन उपसमितिको संयोजकमा कमल अधिकारी, दाता पहिचान उपसमितिको संयोजकमा शंकर गौतम, सुरक्षा व्यवस्थापन उपसमितिको संयोजकमा अस्थायी प्रहरी चौकी धारपानीका इन्चार्ज धर्मराज थापा तथा प्रचारप्रसार उपसमितिको संयोजकमा विष्णुराम आचार्यलाई जिम्मेवारी प्रदान गरिएको छ।

अपिल, पर्चा तथा पम्प्लेट निर्माण उपसमितिको संयोजकमा सरद आचार्य, आवास तथा बसाई व्यवस्थापन उपसमितिको संयोजकमा गणेश नेपाली, सचिवालय व्यवस्थापन उपसमितिको संयोजकमा ऋषिदेव शर्मा, टेन्ट तथा साउन्ड सिस्टम व्यवस्थापन उपसमितिको संयोजकमा विवेक श्रेष्ठ तथा दीप सङ्कलन उपसमितिको संयोजकमा गोविन्दराज भट्टराई चयन हुनुभएको छ।

विशेषगरी आरती तथा पूजा व्यवस्थापन उपसमितिमा ठूलो संख्यामा महिला सदस्यहरूलाई परिचालन गरिएको आयोजकले जनाएको छ। कार्यक्रमलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा सफल बनाउन सबै उपसमितिहरूले आ–आफ्नो जिम्मेवारीअनुसार तयारीलाई तीव्रता दिएका छन्।

मूल आयोजक समितिले साउन १ गते हुने भव्य उद्घाटन समारोहमा उपस्थित भई पुण्य कमाउन सम्पूर्ण श्रद्धालु भक्तजन, सञ्चारकर्मी तथा सरोकारवाला निकायलाई हार्दिक निमन्त्रणा गरेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस