घोराही, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दाङ महिला जेसिजको आयोजनामा घोराही उपमहानगरपालिका–१७ स्थित निर्णय पुनर्स्थापना केन्द्रमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। “परिवर्तन सम्भव छ” भन्ने मूल नाराका साथ आयोजित “युवासँग प्रेरणा र संवाद” कार्यक्रममा पुनर्स्थापना केन्द्रमा रहेका ६० जनाभन्दा बढी युवाको सहभागिता रहेको थियो।

कार्यक्रममा युवाहरूलाई सुधार गृहबाट बाहिरिएपछि समाजमा पुनर्स्थापित हुने प्रक्रिया, सकारात्मक सोच, आत्मविश्वास, सीप तथा जिम्मेवार नागरिकका रूपमा अघि बढ्न सकिने सम्भावनाका विषयमा प्रेरणामूलक संवाद गरिएको थियो। विगतका कमजोरीलाई जीवनको अन्तिम सत्य नठानी त्यसबाट पाठ सिक्दै नयाँ सुरुवात गर्न सकिने सन्देश वक्ताहरूले दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षाविद् भोलानाथ योगीले जीवनमा गल्ती हुनु अन्त्य नभएको भन्दै त्यसबाट सिकेर सही बाटोमा अघि बढ्न सके परिवर्तन सम्भव रहेको बताउनुभयो। उहाँले शिक्षा र सकारात्मक सोचले मानिसको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने उल्लेख गर्दै युवाहरूलाई आफ्नो क्षमता पहिचान गरी समाजमा उदाहरणीय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले समाजमा पुनर्स्थापना हुन चाहने युवालाई समाजले अवसर र विश्वास दिनुपर्ने बताउनुभयो। उहाँले विगतका कारण कसैलाई सधैँ नकारात्मक दृष्टिले हेर्न नहुने भन्दै सुधारको बाटो रोजेका युवालाई परिवार, समुदाय र राज्यले साथ दिनुपर्ने धारणा राख्नुभयो। “मानिसको विगतभन्दा उसको वर्तमान र भविष्य महत्वपूर्ण हुन्छ। आफूलाई परिवर्तन गर्ने दृढ इच्छाशक्ति भयो भने जीवनलाई नयाँ दिशामा लैजान सकिन्छ,” उहाँले भन्नुभयो।

नेपाली कांग्रेस घाेराहीका सभापति एवम् युवा नेता तिलक रावतले युवाको ऊर्जा सही क्षेत्रमा प्रयोग गर्न सके समाज परिवर्तनको महत्वपूर्ण शक्ति बन्न सक्ने बताउनुभयो। उहाँले युवाहरूलाई निराश नभई सीप, श्रम र सिर्जनशीलतालाई जीवनको आधार बनाउन आग्रह गर्नुभयो।

परिवार नियोजन संघका अध्यक्ष माया शर्माले स्वस्थ जीवनशैली, आत्मअनुशासन र सकारात्मक सम्बन्ध निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। संघका निर्देशक वसन्त खनालले पुनर्स्थापना केन्द्रबाट बाहिरिएपछि युवाहरूलाई समाजमा सहज रूपमा घुलमिल हुन वातावरण निर्माण गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।

दाङ महिला जेसिजकी संस्थापक अध्यक्ष निर्मला गौतमले युवालाई दोस्रो अवसर दिनुपर्नेमा जोड दिँदै परिवार र समाजको सहयोगले पुनर्स्थापना प्रक्रिया अझ प्रभावकारी बन्ने बताउनुभयो।

दाङ महिला जेसिजकी अध्यक्ष अर्चना शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक सञ्चिता सुनारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण दाङ महिला जेसिजकी महासचिव बसन्ती सुवेदीले गर्नुभएको थियो।

अन्तर्राष्ट्रिय युवा दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नगरी जोखिममा रहेका तथा सुधारको प्रक्रियामा रहेका युवासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी युवाहरूले आफ्ना अनुभव, चुनौती तथा भविष्यप्रतिको अपेक्षा व्यक्त गर्दै वक्ताहरूसँग संवादसमेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस