विमल योगी
दाङ, १३ भदौ । दाङको घाेराही ५ धर्ना धारपानीस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पाण्डवेश्वर महादेव मन्दिरमा गत साउनमा सञ्चालन भएको शिवपुराण तथा श्रृंगारिक महाआरती सत्संगको आयव्यय विवरण सार्वजनिक गरिएको छ।
साउन १ गतेदेखि भदौ १ गतेसम्म सञ्चालन भएको उक्त धार्मिक अनुष्ठानबाट कुल ३३ लाख ८७ हजार ५५ रुपैयाँ आम्दानी भएको तथा सम्पूर्ण खर्च कटाएर १७ लाख ६४ हजार ९ सय ७४ रुपैयाँ मौज्दात बचत रहेको आयोजक समितिले जनाएको छ। समितिका अध्यक्ष गणेश कुमार अधिकारीकाे अध्यक्षतामा शनिवार मन्दिर परिसरमा भएको खर्च सार्वजनिक कार्यक्रममा आरती सञ्चालनका क्रममा १५ लाख २२ हजार ८१ रुपैयाँ खर्च भएको छ। धार्मिक अनुष्ठानमा भक्तजन, शुभेच्छुक तथा विभिन्न संघसंस्थाबाट प्राप्त सहयोगका कारण उल्लेखनीय रकम संकलन भएको जनाइएको छ।
आर्थिक प्रतिवेदनअनुसार भक्तजनबाट प्राप्त महाआरती संकल्प रकम ४ लाख ९९ हजार ४ सय ६१ रुपैयाँ, ब्राह्मण भोजन तथा प्रसादी वितरणबाट २ लाख २६ हजार ४ सय ६१ रुपैयाँ तथा अन्य सहयोगबाट १५ लाख ७६ हजार १ सय ३२ रुपैयाँ संकलन भएको थियो। यस्तै, दानपेटिकाबाट ९ लाख ४८ हजार ४० रुपैयाँ, झोलिदानबाट ९८ हजार ३६ रुपैयाँ तथा महाआरतीका क्रममा संकलित चामल बिक्रीबाट ३८ हजार ९२५ रुपैयाँ प्राप्त भएको थियो।
एक महिनासम्म सञ्चालन भएको कार्यक्रममा बाद्यवादन कलाकारलाई २ लाख ५० हजार रुपैयाँ, साउण्ड सिस्टम तथा कर्मचारी दक्षिणामा २ लाख ४१ हजार ७ सय २५ रुपैयाँ, महाआरतीका गुरुहरूलाई २ लाख ५ हजार रुपैयाँ तथा फोटो फ्रेम, पर्चा, निमन्त्रणा कार्ड र प्रमाणपत्र व्यवस्थापनमा १ लाख ४३ हजार ८ सय ९० रुपैयाँ खर्च गरिएको छ। त्यसैगरी टेन्ट, कुर्सी तथा स्टेज व्यवस्थापनमा १ लाख ४ हजार ७ सय ५३ रुपैयाँ, कर्मचारी तथा सहयोगीहरूको दक्षिणामा १ लाख १ हजार एक सय रुपैयाँ, मुख्य वाचक गुरुलाई ९५ हजार रुपैयाँ तथा पूजा सामग्रीमा ७४ हजार ७४० रुपैयाँ खर्च भएको छ।
सत्संग अवधिभर भक्तजनहरूलाई भोजन तथा प्रसादी वितरणका लागि कुल १ लाख ७ हजार ८४५ रुपैयाँ खर्च भएकोमा प्रतिभाटोल विकास संस्था (गुरुगैरी) ले ५७ हजार रुपैयाँ सहयोग गरेको र बाँकी ५० हजार ८४५ रुपैयाँ समितिले व्यहोरेको जनाएको छ। यसका अतिरिक्त जेनेरेटर इन्धनमा ४३ हजार ६ सय ९९ रुपैयाँ, स्थानीय मिडिया रुटिन अफ घोराही का लागि ३२ हजार रुपैयाँ, रुद्राक्ष मालामा ३२ हजार रुपैयाँ, उद्घाेषकलाई ३० हजार रुपैयाँ तथा प्रचारप्रसार र यातायात व्यवस्थापनमा १८ हजार ४ सय ७६ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। सम्पूर्ण खर्च कटाएर बाँकी रहेको १७ लाख ६४ हजार ९ सय ७४ रुपैयाँ बचत भएको छ ।











