घोराही, १५ भदाै। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि घाेराही १० नारायणपुरस्थित लिटिल भ्याली बालबाटिकाले प्रधानमन्त्री विपद् राहत कोषमा आर्थिक सहयोग गरेको छ।
विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बाढीबाट प्रभावित विभिन्न जिल्लाका पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले रु. ३२ हजार ५ सय रुपैयाँ प्रधानमन्त्री विपद् राहत कोषमा क्यूआर कोडमार्फत एकमुष्ठ ट्रान्सफर गरेको जनाएका छन् । विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले स्वच्छिकरुपमा सहयाेग रकम सङ्कलन गरि क्यूआरमार्फत विद्यालयकाे नाममा उक्त रकम प्रधानमन्त्री विपद् राहत काेषमा जम्मा गरिएकाे विद्यालयले जनाएकाे छ।
विद्यालयका सञ्चालक समितिका अध्यक्ष धरम बहादुर बस्नेत र प्रिन्सिपल आदेश ओलीद्वारा जारी सूचनामा २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अकस्मात आएको विनाशकारी बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन तथा नवलपरासी जिल्लामा धनजनको ठूलो क्षति भएको घटनाप्रति विद्यालय परिवारले गहिरो दुःख व्यक्त गरेको छ। साथै, बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरिएको छ।












