घाेराही, १८ भदाैं । घाेराही उपमहानगरपालिका १६ सर्रा स्थित ज्ञानमाला एकेडेमीले भाेटेकाेशीका बाढीपीडितलाई आर्थिक सहयाेग गरेकाे छ । एकेडेमीले प्रधानमन्त्री विपद् राहत काेषमा ३७ हजार ८ सय दस रुपैया जम्मा गरेकाे हाे ।
गत भाद्र १० गते भाेटेकाेशीमा आएकाे विनाशकारी बाढीका कारण रसुवा, नुवाकाेट, धादिङ, चितवन लगायतका जिल्लामा भएकाे अकल्पनीय क्षतिप्रति दु:ख व्यक्त गर्दै विद्यालयले स्वैच्छिकरुपमा विद्यालय, शिक्षक, कर्मचारी, क्लब तथा विद्यार्थीहरुबाट संकलित रकम एकमुष्टरुपमा राहत काेषमा जम्मा गरेकाे हाे । देशलाई दु:ख पर्दा हरेक नागरिकले राज्यलाई सहयाेग गर्नुपर्ने भन्दै विद्यालयले सञ्चालक, शिक्षक, कर्मचारी र विद्यार्थीलाई स्वैच्छिक सहयाेगकाे आह्वान गरेेकाे थियाे ।
विद्यालयमा क्रियाशील सिर्जनशील बाल क्लब, नेपाल जुनियर रेडक्रस सर्कल, किशाेरी समूह र विद्यालयका क्याप्टेनकाे सक्रियतामा विद्यार्थीहरुले आर्थिक सहयाेग संकलन गरेका थिए। बाढीपीडितहरुलाई सहयाेग गर्नु मानवीय धर्म रहेकाे भन्दै विद्यार्थीहरुले खाजा खर्च रकम, नियम उल्लङ्घनकाे जरिवाना रकम र क्लबहरुकाे काेषमा सञ्चित रकम विद्यालयका प्रिन्सिपल महेश बस्नेतलाई हस्तान्तरण गरेका थिए । विद्यालयले शिक्षक, कर्मचारी तथा विद्यालय सञ्चालक समितिले उपलब्ध गराएकाे कूल ३७ हजार ८ सय दस रुपैया प्रधानमन्त्री विपद राहत काेषमा जम्मा गरेकाे हाे ।
यसैबीच विद्यालय सञ्चालक समितिका अध्यक्ष चिजबहादुर चाैधरी र प्रिन्सिपल महेश बस्नेतले विज्ञप्ति जारी गर्दै भाेटेकाेशीकाे बाढीका कारण रसुवा, नुवाकाेट, धादिङ लगायतका जिल्लामा भएकाे अकल्पनीय जनधनकाे क्षतिप्रति दु:ख व्यक्त गर्नुभएकाे छ । जारी विज्ञप्तिमा दिवङ्गतहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शाेकसन्तप्त परिवार तथा आफन्तजनप्रति गहिराे समवेदना प्रकट गरिएकाे छ । यसैगरी उक्त प्राकृतिक विपदका घाइतेहरुकाे शिघ्र स्वास्थ्य लाभकाे कामना समेत गरिएकाे छ । बुधबार बसेकाे विद्यालय सञ्चालक समितिकाे बैठकले शाेक प्रस्ताव समेत पारित गरेकाे छ ।











