घोराही, १८ भदाै । भाद्र १० गते भाेटेकाेशीमा आएकाे बाढीका कारण प्रभावित तथा पीडित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै घोराही–१०, नारायणपुरस्थित स्वर्गद्वारी इङ्लिस बोर्डिङ स्कुलले आर्थिक सहयोग गरेको छ।
विपद्को यस कठिन घडीमा बाढीबाट प्रभावित परिवारको पीडा र समस्याप्रति संवेदनशील हुँदै विद्यालय परिवारले रु. १,११,१११/- (एक लाख एघार हजार एक सय एघार रुपैयाँ) सहयोग गरेको हो। विद्यालय, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको संयुक्त योगदानबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगस्वरूप जम्मा गरिएको विद्यालयले जनाएको छ।
बाढी तथा प्राकृतिक विपद्का कारण रसुवा, नुवाकाेट, धादिङ, चितवनमा जनधनको क्षति भइरहेका बेला पीडित परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको भन्दै विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो। विपद्को समयमा पीडितको साथमा उभिनु नागरिक तथा संस्थाको साझा दायित्व भएको विद्यालयका प्रिन्सिपल गिरिराज कुवरले बताउनुभयो ।
विद्यालयले विद्यार्थीहरूलाई पाठ्यपुस्तकको ज्ञानसँगै मानवीय संवेदना, सामाजिक उत्तरदायित्व, सहयोग र सेवाको भावना विकास गराउने उद्देश्यले समेत यस प्रकारका सामाजिक कार्यमा सहभागी गराउँदै आएको जनाएको छ। शिक्षक, कर्मचारी र विद्यार्थीहरूको सहभागितामा रकम संकलन गरी सहयोग गर्नुले विद्यालय समुदायमा सामूहिक भावना र सामाजिक सेवाप्रतिको प्रतिबद्धता देखाएको छ।
विद्यालय परिवारले बाढीबाट प्रभावित तथा पीडित सबै परिवारप्रति सहानुभूति व्यक्त गर्दै विपद्को यस घडीमा सबै पक्षलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नसमेत आग्रह गरेको छ। साथै, राहत तथा उद्धारका कार्यलाई प्रभावकारी बनाउन सरकारी तथा गैरसरकारी निकाय, सामाजिक संघसंस्था, विद्यालय तथा आम नागरिकबीच सहकार्य आवश्यक रहेको भन्दै विद्यालयले सबैमा अपिल गरेकाे छ।
स्वर्गद्वारी इङ्लिस बोर्डिङ स्कुल परिवारको यो सहयोगले विपदमा पीडित परिवारलाई राहत पुर्‍याउनुका साथै विद्यार्थीहरूमा मानवीय सेवा र सामाजिक जिम्मेवारीको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस