दाङ, २२ भाद्र । नेपाल डिस्ट्रिब्युटर्स एसोसिएसन (एनएमडीए) राप्ती शाखाले प्राकृतिक विपदबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ।
विपद्को यस कठिन घडीमा पीडित नागरिकहरूको राहत, उद्धार तथा पुनःमोबाइल स्थापनामा सहयोग पुर्याउने उद्देश्यले एनएमडीए राप्ती शाखाले रु. १ लाख १२ हजार ७ सय १० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
एनएमडीए राप्ती शाखाका अध्यक्ष राजभक्त रानाका अनुसार विपद्का कारण समस्यामा परेका नागरिकहरूको पीडा कम गर्न तथा राहत र उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले संस्थाका सदस्यहरूको सहभागितामा उक्त रकम संकलन गरी कोषमा प्रदान गरिएको हो।
अध्यक्ष रानाले विपद्को समयमा सरकारको प्रयाससँगै निजी क्षेत्र, व्यवसायी, सामाजिक संघसंस्था तथा आमनागरिकले पनि आफ्नो क्षमता अनुसार सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँले सानो–सानो सहयोगको सामूहिक प्रयासले विपद् पीडितहरूका लागि ठूलो राहत बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो।
“विपद्को यस कठिन घडीमा पीडितहरूको राहत तथा उद्धारका लागि हाम्रो सानो प्रयास हो,” अध्यक्ष रानाले भन्नुभयो, “मानवीय सेवाभावका साथ गरिएको सहयोगले पीडित नागरिकहरूको पुनःस्थापनामा केही भए पनि सहयोग पुग्ने विश्वास गरेका छौँ।”
नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एसोसिएसन राप्ती शाखाले व्यवसायिक हितका अतिरिक्त सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको जनाएको छ। आगामी दिनमा पनि सामाजिक सेवा तथा मानवीय सहयोगका कार्यमा सक्रिय रहने प्रतिबद्धता शाखाले जनाएको छ।












