दाङ, २५ भदाै । रोल्पाली ढाङढुढ (कुरेली) समाज सेवा दाङका संस्थापक स्वर्गीय गणेशप्रसाद रोका मगरको स्मृतिमा उहाँका छोराहरूले प्रधानमन्त्री राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेका छन्।

स्वर्गीय गणेशप्रसाद रोका मगरका छोराहरू पृथ्वीप्रसाद रोका मगर, नारायणप्रसाद रोका मगर, गुप्ताप्रसाद रोका मगर, कैलास रोका मगर, अशोक रोका मगर र ओमप्रकाश रोका मगरले संयुक्त रूपमा उक्त रकम सहयोग गरेका हुन्। रोका परिवारले कृषि विकास बैंकमा रहेको प्रधानमन्त्री राहत कोषको खातामा रकम जम्मा गरेको हो।

हालै विभिन्न क्षेत्रमा प्राकृतिक विपत्तिका कारण नागरिकहरू प्रभावित भइरहेका बेला पीडित तथा प्रभावित परिवारको राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले स्वर्गीय बुबाको स्मृतिमा राहत कोषमा रकम प्रदान गरिएको परिवारले जनाएको छ।
रकम जम्मा गर्ने कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासन प्रमुख अतिथि रहनुभएको थियो। उहाँकै प्रमुख आतिथ्यतामा कृषि विकास बैंकमा प्रधानमन्त्री राहत कोषमा सहयोग रकम जम्मा गरिएको थियो।

रकम जम्मा गरेपछि स्वर्गीय गणेशप्रसाद रोका मगरको सालिक रहेको स्थानमा एक कार्यक्रम आयोजना गरी सहयोग रकमबारे औपचारिक रूपमा जानकारी गराइएको थियो। कार्यक्रममा स्वर्गीय गणेशप्रसाद रोका मगरले समाजसेवा तथा सामाजिक एकताका क्षेत्रमा पुर्‍याउनुभएको योगदानको स्मरणसमेत गरिएको थियो।
रोल्पाली ढाङढुढ (कुरेली) समाज सेवा दाङका संस्थापकका रूपमा स्वर्गीय गणेशप्रसाद रोका मगरले समाजलाई संगठित गर्दै सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको परिवार तथा समाजका सदस्यहरूले स्मरण गरेका छन्। उहाँको योगदानलाई आगामी पुस्ताले समेत सम्झिरहने गरी सामाजिक कामलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

परिवारले व्यक्तिगत तथा पारिवारिक स्मृतिलाई सामाजिक सेवासँग जोड्दै विपद्मा परेका नागरिकका लागि सहयोग गर्नु स्वर्गीय गणेशप्रसादप्रतिको वास्तविक श्रद्धाञ्जली भएको बताएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सविन प्रियासनले स्वर्गीय गणेशप्रसाद रोका मगरको स्मृतिमा गरिएको सहयोग प्रशंसनीय रहेको बताउनुभयो। उहाँले दुःख र विपत्तिको समयमा पीडित नागरिकको साथमा उभिनु समाजको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता मानवीय कार्यले सामाजिक एकता र सहयोगको भावना बलियो बनाउने धारणा व्यक्त गर्नुभयो।

रोका परिवारले गरेको ५० हजार रुपैयाँ सहयोगले विपद्का कारण समस्यामा परेका नागरिकको राहत तथा पुनःस्थापनामा केही भए पनि योगदान पुग्ने विश्वास गरिएको छ। स्वर्गीय गणेशप्रसाद रोका मगरको स्मृतिमा गरिएको यो सहयोगले परिवारले सामाजिक उत्तरदायित्वप्रति देखाएको प्रतिबद्धतालाई समेत प्रतिबिम्बित गरेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस