घोराही, २५ असोज। त्रिभुवननगर जेसीजको आयोजनामा ‘स्वास्थ सप्ताह–२०२६’  सुरु भएकाे छ । सप्ताह अन्तर्गत पहिलो दिन आइतबार ‘तपाईंको स्वास्थ, हाम्राे प्राथमिकता’ भन्ने नाराका साथ जेष्ठ नागरिकहरुकाे स्वास्थ्य परीक्षण गरिएको छ।

घोराही उपमहानगरपालिका–१६, तेरौटेस्थित जेष्ठ नागरिक सरोकार केन्द्रमा बसोबास गर्दै आएका जेष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था पहिचान गर्ने, सम्भावित स्वास्थ्य समस्याबारे जानकारी दिने तथा समयमै उपचारका लागि प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा जेष्ठ नागरिकहरूको रक्तचाप, मधुमेह, मिर्गौला, थाइराइडलगायत आवश्यक स्वास्थ्य परीक्षण गरिएको थियो।

त्रिभुवननगर जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी मिनराज भाटको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डिसीकाे प्रमुख आतिथ्यता एवम् घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनकाे विशिष्ट अतिथ्यतामा कार्यक्रम गरिएकाे थियाे ।

कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख हुमा कुमारी डिसीले त्रिभुवननगर जेसीजले समाजमा सञ्चालन गर्दै आएका सामाजिक तथा सेवामूलक कार्यहरूको प्रशंसा गर्नुभयो। उहाँले जेष्ठ नागरिकहरूको स्वास्थ्यप्रति संवेदनशील हुँदै आयोजना गरिएको स्वास्थ्य परीक्षण कार्यक्रम सह्रानीय रहेको बताउनुभयो। यस्ता गतिविधिले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

स्वास्थ्य परीक्षण कार्यक्रममा फिजिसियन डा. गौरव रावल, अर्थोथेरापिस्ट डा. किरण कँवर र ल्याब टेक्निसियन सागर योगीले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गर्नुभएको थियो। कार्यक्रमलाई संगम पोलिक्लिनिक, घोराही, दाङ र नेशनल प्याथ ल्याब, घोराही, दाङले प्राविधिक सहयोग गरेका थिए।

आयोजकका अनुसार जेष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था पहिचान गर्नुका साथै सम्भावित स्वास्थ्य समस्याबारे जानकारी दिने र समयमै उपचार गराउन प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। समाजका अग्रज तथा अनुभवका धनी जेष्ठ नागरिकहरूको स्वास्थ्य, सम्मान र हेरचाहप्रति संवेदनशील हुँदै त्रिभुवननगर जेसीजले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रम संयोजक रणबहादुर खड्काकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रममा जेसी सुदन पौडेलले आस्थापाठ गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन महासचिव बाबुराम पाण्डेयले गर्नुभएको थियो।

यसैबीच, स्वास्थ्य सप्ताह–२०२६ को दोस्रो दिन असोज २६ गते जिल्ला प्रहरी कार्यालय, दाङमा मेगा हेल्थ क्याम्प आयोजना हुने भएको छ। ‘तपाईंको स्वास्थ्य, हाम्राे प्राथमिकता’ भन्ने नाराका साथ सञ्चालन हुने उक्त शिविरमा दन्त स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा प्रयोगशाला (ल्याब) सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस