Oplus_131072

घोराही, २६ असोज । गुरुकुल एकेडेमीका कक्षा ६ मा अध्ययनरत विद्यार्थीका लागि आयोजना गरिएको चारदिने बन्द शिविर सम्पन्न भएको छ। गुरुकुल एकेडेमी घोराही, लमही र तुलसीपुरका विद्यार्थीको सहभागितामा घोराही–७ स्थित उत्तरबाहिनी गुरुकुलमा सञ्चालन गरिएको शिविरमा ७० जना विद्यार्थी सहभागी भएका थिए। चार दिनसम्म आवासीय रूपमा सञ्चालन गरिएको शिविरमा विद्यार्थीलाई कक्षाकोठाको परम्परागत सिकाइभन्दा बाहिर लैजाँदै व्यवहारिक ज्ञान, अनुशासन, आत्मनिर्भरता, सहकार्य, नेतृत्व क्षमता तथा संस्कारसँग जोडिएका विभिन्न गतिविधिमा सहभागी गराइएको विद्यालयले जनाएको छ। शिविर सम्पन्न भएको अवसरमा आज उत्तरबाहिनी गुरुकुल परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत विद्यालयले शिविरका गतिविधि तथा उपलब्धिबारे जानकारी गराएको हो।

गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक प्रदीप राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विपुल पोख्रेल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा उत्तरबाहिनी गुरुकुलका संयोजक प्रकाश भट्टराई विशिष्ट अतिथि तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा शिविरमा सहभागी विद्यार्थीहरूले चार दिनको अवधिमा आफूहरूले सिकेका तथा अनुभव गरेका विषय प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले शिविरले आफूहरूमा अनुशासन, आत्मविश्वास, समूहमा काम गर्ने क्षमता, नेतृत्व विकास र व्यवहारिक जीवनका विभिन्न पक्षबारे महत्वपूर्ण ज्ञान दिएको अनुभव सुनाएका थिए।

कार्यक्रमका प्रमुख अतिथि पोख्रेलले विद्यार्थीको सिकाइलाई केवल पाठ्यपुस्तक र परीक्षामा सीमित गर्न नहुने बताउँदै व्यवहारिक शिक्षा, संस्कार र अनुभवमा आधारित सिकाइ नै विद्यार्थीको समग्र विकासका लागि महत्वपूर्ण हुने धारणा राख्नुभयो। उहाँले बालबालिकालाई सानै उमेरदेखि अनुशासन, संस्कार, सामाजिक जिम्मेवारी र आत्मनिर्भर बन्ने वातावरण दिनुपर्ने बताउँदै गुरुकुल एकेडेमीले आयोजना गरेको बन्द शिविरजस्ता कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। “शिक्षा भनेको किताबका अक्षर पढेर परीक्षा उत्तीर्ण गर्नु मात्रै होइन, जीवनलाई बुझ्ने र समाजमा जिम्मेवार नागरिकका रूपमा उभिन सक्ने क्षमता विकास गर्नु पनि हो,” उहाँले भन्नुभयो। विद्यार्थीलाई प्रकृति, समाज, संस्कार र व्यवहारसँग जोडेर सिकाउन सके उनीहरूको सिकाइ दीर्घकालीन र प्रभावकारी बन्ने उहाँको भनाइ थियो।

विशिष्ट अतिथि प्रकाश भट्टराईले गुरुकुल परिसरमा विद्यार्थीलाई चार दिनसम्म अनुशासन र संस्कारसहितको वातावरणमा राखेर विभिन्न गतिविधि सञ्चालन गरिएको बताउनुभयो। उहाँले विद्यार्थीमा सकारात्मक सोच, आत्मनिर्भरता र सामाजिक व्यवहार विकास गर्ने उद्देश्यले शिविर आयोजना गरिएको जानकारी दिनुभयो। नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले विद्यार्थीको क्षमता प्रस्फुटनका लागि यस्ता सिर्जनात्मक र व्यवहारिक कार्यक्रम आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यार्थीले शिविरका क्रममा सिकेका कुरा व्यवहारमा उतार्न सके कार्यक्रमको वास्तविक उपलब्धि देखिने धारणा राख्नुभयो।

कार्यक्रम शिक्षिका जानका रोकाको स्वागत मन्तव्यबाट सुरु भएको थियो। कार्यक्रमको सहजीकरण शिक्षक यज्ञमूर्ति पोख्रेल तथा विद्यार्थीहरूले संयुक्त रूपमा गरेका थिए। चार दिनको शिविरमा सहभागी विद्यार्थीका लागि अध्ययनसँगै विभिन्न सिर्जनात्मक, मनोरञ्जनात्मक तथा व्यवहारिक गतिविधि सञ्चालन गरिएको थियो। शिविरबाट प्राप्त अनुभव र सिकाइलाई विद्यालयको नियमित शैक्षिक गतिविधिसँग जोड्दै अघि बढाउने विद्यालयले जनाएको छ। गुरुकुल एकेडेमीले “शिक्षा, संस्कार र संस्कृतिको त्रिवेणी”लाई आत्मसात् गर्दै विद्यार्थीको शैक्षिक विकाससँगै व्यवहारिक, नैतिक तथा सामाजिक पक्षको विकासमा जोड दिँदै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस