विमल योगी
दाङ, २७ असाेज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको रक्षाका लागि गणतन्त्र पक्षधर राजनीतिक दलहरूबीच सहकार्य र एकता आवश्यक रहेको बताउनुभएको छ।

प्रेस चौतारी नेपाल दाङ शाखाले मंगलबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट तथा दाङ जिल्ला उद्योग वाणिज्य संघमा नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै महासचिव पोख्रेलले लोकतन्त्रका लागि संघर्ष गरेका राजनीतिक दलहरू विभाजित हुँदा अराजक तत्त्वहरूले अवसर पाएको बताउनुभयो। लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि दलहरू एक ठाउँमा आउनुपर्ने उहाँको भनाइ थियो।

महासचिव पोखरेलले वामपन्थी शक्तिहरूबीच एकता कायम हुन सके हरेक क्षेत्रमा विजय हासिल गर्न सकिने बताउनुभयो। नेपालमा वामपन्थी शक्तिहरू एकढिक्का हुँदा जस्तोसुकै कठिन परिस्थितिको पनि सामना गर्न सकिने उल्लेख गर्दै उहाँले मुलुकलाई सही दिशामा अघि बढाउन फेरि एकपटक वामपन्थी एकता आवश्यक रहेको बताउनुभयो।

प्रेस चौतारी नेपाल दाङ शाखाका उपाध्यक्ष विमल योगीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव पोखरेलले देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत धारणा राख्नुभएको थियो।

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष ध्रुवराज गहतराजले दाङको आर्थिक विकासमा संघले विशेष भूमिका निर्वाह गर्ने बताउनुभयो। जिल्लामा उद्योग, व्यापार तथा व्यवसायको प्रवर्द्धन गर्दै मुलुकको आर्थिक समृद्धिका लागि संघ निरन्तर लागिपर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

सो अवसरमा दाङ जिल्ला उद्योग वाणिज्य संघमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई टीका, खादा र प्रमाणले सम्मान गर्दै बधाई ज्ञापन गरिएको थियो। प्रेस चाैतारी नेपाल दाङका सल्लाहकार जेएन सागरकाे स्वागत मन्तव्यवाट सुरू भएको कार्यक्रमकाे सञ्चालन काेषाध्यक्ष महेश बस्नेतले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस