घोराही, २७ असोज । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित डिके पेट्रोल पम्प नजिकै सुजुकी स्कुटी तथा बाइकको नयाँ शोरुम सञ्चालनमा आएको छ। सफल युवा व्यवसायी रेशम केसीले सञ्चालनमा ल्याउनुभएको उक्त शोरुमको मंगलबार एक कार्यक्रमबीच औपचारिक उद्घाटन गरिएको हो।
केसीकी आमा, ससुरा, दाङ जिल्ला उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष ध्रुवकुमार गहतराज तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले संयुक्त रूपमा रिबन काटेर शोरुमको उद्घाटन गर्नुभएको थियो।
उद्घाटन कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष ध्रुवकुमार गहतराजले युवा उद्यमशीलता आर्थिक विकासको महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले युवाहरूले आफ्नै ठाउँमा लगानी गरेर व्यवसाय सञ्चालन गर्नु सकारात्मक कदम भएको उल्लेख गर्दै यस्ता व्यवसायले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले युवाहरूले व्यवसायमार्फत रोजगारी सिर्जना गर्दै आर्थिक समृद्धिमा योगदान पुर्याउनुपर्ने बताउनुभयो। उहाँले स्थानीय स्तरमा नयाँ व्यवसायको विस्तारले उपभोक्तालाई सहज सेवा उपलब्ध गराउनुका साथै घोराहीलाई व्यावसायिक केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने बताउनुभयो।
कार्यक्रममा नेपाली कांग्रेस घोराही नगर समितिका सभापति तिलक रावतले युवाहरूको व्यावसायिक सक्रियताले स्थानीय बजारको विकासमा टेवा पुग्ने धारणा राख्नुभयो। दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष महेन्द्र बुढाथोकीले व्यवसायको सफलताका लागि गुणस्तरीय सेवा, ग्राहकसँगको विश्वास र व्यावसायिक इमानदारी महत्वपूर्ण हुने बताउनुभयो।
युवा व्यवसायी केसीले ग्राहकको आवश्यकता र सुविधालाई प्राथमिकतामा राखेर शोरुम सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँले ग्राहकलाई गुणस्तरीय सवारीसाधन छनोट गर्न सहज बनाउनुका साथै बिक्रीपछिको सेवामा समेत ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
शोरुममा सुजुकी स्कुटी तथा बाइकसँगै विभिन्न आधुनिक सुविधासम्पन्न स्कुटी र मोटरसाइकल विशेष अफरसहित बिक्री वितरण भइरहेको जनाइएको छ। ग्राहकको सुविधालाई ध्यानमा राख्दै शोरुमले फाइनान्सको व्यवस्थासमेत गरेको छ। यसका साथै पुराना स्कुटी तथा मोटरसाइकल एक्सचेन्ज गरेर नयाँ सवारीसाधन खरिद गर्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ।
स्थानीय ग्राहकलाई एउटै स्थानबाट सवारीसाधन खरिद, फाइनान्स तथा एक्सचेन्जको सुविधा उपलब्ध गराउने उद्देश्यले शोरुम सञ्चालनमा ल्याइएको हो।
कार्यक्रमको सहजीकरण अभियन्ता डिलाराम ओलीले गर्नुभएको थियो।












