घोराही, २७ असाेज। त्रिभुवननगर जेसीजको आयोजनामा सञ्चालित स्वास्थ्य सप्ताह २०२६ अन्तर्गत तेस्रो दिन बृहत् रक्तदान तथा रक्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ। त्रिभुवननगर जेसीजको सचिवालयमा आयोजित उक्त शिविरबाट ५४ जनाभन्दा बढी लाभान्वित भएका छन्।

रक्त सञ्चार केन्द्र दाङको समन्वय तथा नेशनल प्याथ ल्याब, घोराही दाङको प्राविधिक सहयोगमा आयोजित शिविरमा रक्तदानका साथै सहभागीहरूको रक्त परीक्षण गरी आवश्यक परामर्श प्रदान गरिएको थियो।

त्रिभुवन नगर जेसीजका अध्यक्ष मिनराज भाटको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेश कुमार पाण्डेयको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा रक्त सञ्चार केन्द्र दाङका प्रमुख दिलीप न्यौपाने विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रमका प्रमुख अतिथि पाण्डेयले रक्तदान मानवीय सेवाको उत्कृष्ट उदाहरण भएको बताउनुभयो। उहाँले आकस्मिक दुर्घटना, शल्यक्रिया तथा विभिन्न रोगका कारण रगतको आवश्यकता पर्ने बिरामीको जीवन बचाउन रक्तदानले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै स्वस्थ व्यक्तिहरूलाई स्वेच्छिक रक्तदानका लागि प्रेरित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। साथै, सामाजिक संघसंस्थाले स्वास्थ्यसम्बन्धी यस्ता सेवामूलक कार्यक्रम सञ्चालन गर्नु सकारात्मक रहेको बताउँदै यस्ता अभियानले समुदायमा स्वास्थ्य सचेतना बढाउन र मानवीय सेवाको भावना विकास गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।

त्रिभुवननगर जेसीजका अध्यक्ष भाटले स्वास्थ्य सप्ताह २०२६ अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरि समुदायका विभिन्न क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्य राखिएको बताउनुभयो। नागरिकलाई स्वास्थ्यप्रति सचेत बनाउनुका साथै आवश्यक स्वास्थ्य परीक्षणका लागि प्रेरित गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो।

कार्यक्रमका संयोजक समीर ओलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण त्रिभुवननगर जेसीजका थिम डिरेक्टर अभिषेक बोहराले गर्नुभएको थियो।

शिविरमा उपस्थित स्वास्थ्यकर्मीले सहभागीहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्श प्रदान गरेका थिए। सचिवालयमै स्वास्थ्य सेवा उपलब्ध गराएर नागरिकलाई सहज रूपमा स्वास्थ्य परीक्षण गर्ने अवसर प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।

यस्ता कार्यक्रमले नागरिकमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै रोगको समयमै पहिचान र स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस