घोराही, २० कार्तिक। दाङको घोराही उपमहानगरपालिका- १५ शाक्य गहनाको भित्री सडकमा महिलाहरूलाई लक्षित गरी ‘मन्जु वेयर’ सञ्चालनमा आएको छ। पसल सञ्चालक मन्जु र हिमालले नयाँ व्यवसायका रूपमा मन्जु वेयर शुभारम्भ गर्नुभएको हो।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले रिबन काटेर पसलको औपचारिक उद्घाटन गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले स्थानीय स्तरमा नयाँ व्यवसाय सञ्चालन हुनु आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना र आत्मनिर्भर समाज निर्माणका लागि सकारात्मक कदम भएको बताउनुभयो। उहाँले व्यवसाय सञ्चालन गर्नु मात्रै ठूलो कुरा नभई ग्राहकको विश्वास जित्दै गुणस्तरीय सेवा प्रदान गर्नु अझ महत्त्वपूर्ण रहेको धारणा राख्नुभयो।
‘घोराहीलाई समृद्ध बनाउने हो भने यहाँका नागरिक उद्यमशील बन्नुपर्छ। साना तथा मझौला व्यवसायको प्रवर्द्धन, स्थानीय लगानीको संरक्षण र नयाँ व्यवसायीलाई प्रोत्साहन गर्न सके मात्रै आर्थिक रूपमा सबल नगर निर्माण गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘व्यवसायीहरू एकअर्काका प्रतिस्पर्धी मात्र होइन, सहयात्री पनि बन्नुपर्छ। सबैले आ–आफ्नो क्षेत्रबाट आर्थिक गतिविधि बढाउन योगदान गरौँ।’
उहाँले महिलाहरूलाई लक्षित गरेर व्यवसाय सञ्चालन गर्नु सकारात्मक विषय भएको उल्लेख गर्दै ग्राहकको आवश्यकता, रुचि र सुविधालाई ध्यानमा राखेर सेवा दिन सञ्चालकलाई सुझाव दिनुभयो।
मन्जु वेयरमा महिलाहरूका लागि आवश्यक विभिन्न प्रकारका रेडिमेड कपडाका साथै पहिरनसँग मिल्ने म्याचिङ गहनाहरू उपलब्ध हुने सञ्चालक मन्जु र हिमालले जानकारी दिनुभएको छ।
एउटै स्थानमा आफूलाई आवश्यक पर्ने कपडा र त्यससँग मिल्ने गहना छनोट गर्न सकिने व्यवस्था मिलाउने उद्देश्यले पसल सञ्चालनमा ल्याइएको उहाँहरूको भनाइ छ।
स्थानीय बजारमा नयाँ व्यवसाय थपिएसँगै घोराहीको व्यापारिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।












