घाेराही, २५ जेठ । नेपाल राष्ट्रिय शिक्षक संगठन घोराहीले छैठौँ नगर परिषद शनिबार सम्पन्न गरेको छ ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेशका अध्यक्ष भागवत पौडेलको विशिष्ट आतिथ्यतामा नगर परिषद सम्पन्न भएको थियाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चौधरीले शिक्षक गानमा भनेझै सूर्यको ज्योती समानको तेजिलो शिक्षाको किरण छर्न सक्ने शिक्षक हुनुपर्ने बताउनुभयो । वास्तविकरुपमा शिक्षित विद्यार्थीले मात्रै गुण र दोषको आधारमा आफ्नो विचार निर्माण गर्ने, सामाजिक रुपान्तरण एवं आर्थिक उन्नयनमा राम्रो भूमिका निर्वाह गर्नसक्ने चाैधरीले उल्लेख गर्नुभयाे । उहाँले विना सीपको सर्टिफिकेट हातमा भएको मानिसले केही पनि गर्न नसक्ने भएकाले गरिखाने शिक्षाको विकासको लागि आफू लागिपरेको कुरामा जोड बताउनुभयो।
नगर प्रमुख चौधरीले आगामी दिनमा कक्षा ५ को नगर स्तरीय परीक्षालाई अझै व्यवस्थित गर्ने योजना रहेको र त्यसका लागि होम सेन्टर भएता पनि परीक्षा निरिक्षकहरु भने अन्य विद्यालयबाट ल्याइ परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी समेत दिनुभयो। उहाँले आफू विद्यालयको अनुगमनमा गएको बेला कक्षा कोठामा नै गएर विद्यार्थीसँग अन्तरक्रिया गरी उनीहरुको सिकाइ स्तरको जानकारी लिने र शिक्षक, प्रधानाध्यापकलाई आवश्यक सरसल्लाह दिने योजना बनाएको बताउनुभयो।
विशिष्ट अतिथि भागवत पौडेलले शिक्षकहरुले गत चैत्र बैशाखमा गरेको राजधानी केन्द्रित शिक्षक आन्दोलनका क्रममा राज्यसँग भएको सहमति अनुसार शिक्षा ऐनमा धेरै कुराहरु समेटिने बताउनुभयाे। उहाँले अब आउने शिक्षा ऐनका बिषयमा सामाजिक सञ्जालमा आएका विभिन्न समाचारहरुको आधारमा नकारात्मक टिप्पणी नगर्न शिक्षकहरुलाई आग्रह गर्नुभएको थियो ।
सम्मान तथा विदाई
नेपाल राष्ट्रिय शिक्षक संगठन घोराहीले आफ्नो छैठौँ नगर परिषदको अवसरमा सम्मान तथा विदाई गरेको छ ।
संगठनको उन्नयनमा अभिभावकिय भूमिका निर्वाह गरे बापत वडा नं. १४ का वडाध्यक्ष भानसिंङ बुढा र नेपाल राष्ट्रिय शिक्षक संगठन घोराहीको वडा नं. ११को इन्चार्जको भूमिका निर्वाह गरी संगठनको बृद्धि बिकासमा निष्ठापूर्वक सक्रिय टिकाराम खनाललाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रमा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष एवम् जनसंगठन विभाग प्रमुख मनोहर बुढाथोकी, पेशागत महासंघ लुम्बिनीका उपाध्यक्ष श्रीमण न्यौपाने, संगठनका जिल्ला अध्यक्ष मिनराज शर्मा पण्डित, निवर्तमान जिल्ला अध्यक्ष दामोदर बस्नेत, नेपाल शिक्षक संघ घोराहीका अध्यक्ष खिम प्रसाद पुरी, निवर्तमान जिल्ला कोषाध्यक्ष विजय अधिकारी, जिल्ला सचिव धनिराम के.सी. लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन घोराहीका अध्यक्ष पोषणराज बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा नगर सचिव खिमबहादुर बुढाले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष केशव खत्रीले आर्थिक प्रतिवेदन र महिला विभाग संयोजक विमला पौडेलले महिला विभागको सांगठनिक प्रतिवेदन पेश गर्नुभएको थियो । उपाध्यक्ष विमला पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण नगर सचिव खिमबहादुर बढाले गर्नुभएको थियो ।












