लन्डन, १ असार । बेलायत सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने व्यवस्था लागू गर्ने तयारी गरेको छ। प्रधानमन्त्री सर किअर स्टार्मरले सोमबार बालबालिकालाई अनलाइन प्लेटफर्ममा सुरक्षित राख्ने उद्देश्यसहित सामाजिक सञ्जालसम्बन्धी नीति परिवर्तन गर्ने घोषणा गरेका हुन्।
नयाँ व्यवस्थाअन्तर्गत टिकटक, इन्स्टाग्राम, स्न्याप च्याटलगायत लोकप्रिय सामाजिक सञ्जालहरूमा १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको पहुँच सीमित गरिने जनाइएको छ।
सरकारका अनुसार यो निर्णयअघि गरिएको परामर्शमा एक लाखभन्दा बढी अभिभावक सहभागी भएका थिए। सहभागीमध्ये ९१ प्रतिशतले १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिएका थिए।
बालबालिकामा सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण मानसिक स्वास्थ्य, साइबर दुर्व्यवहार, अनुचित सामग्रीको पहुँच तथा अनलाइन सुरक्षासम्बन्धी चुनौती बढ्दै गएको भन्दै सरकारले यस्तो कदम चाल्न लागेको हो।
यसअघि गत वर्ष डिसेम्बरमा अस्ट्रेलियाले पनि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुन लागू गरेर विश्वमै पहिलो उदाहरण प्रस्तुत गरेको थियो।

बेलायतको यो निर्णयलाई बालबालिकाको डिजिटल सुरक्षा सुदृढ गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस