असार १३ । चीनका वैज्ञानिकहरूले पेटको क्यान्सर सुरुवाती चरणमै पत्ता लगाउन सक्ने अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली विकास गरेका छन्। नियमित रूपमा गरिने सिटी स्क्यानमार्फत क्यान्सर पहिचान गर्ने यो प्रविधिबाट डाक्टरहरूलाई समयमै उपचार थाल्न सहयोग पुग्ने विश्वास लिइएको छ।
पूर्वी चीनको चच्याङ प्रान्तस्थित चच्याङ क्यान्सर अस्पताल र अलिबाबाको ‘डामो एकेडेमी’को सहकार्यमा तयार पारिएको यस प्रणालीलाई ‘डामो ग्रेप’ नाम दिइएको छ। करिब ७० हजारभन्दा बढी बिरामीमा गरिएको परीक्षणमा सकारात्मक परिणाम देखिएको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ।
चीनमा प्रत्येक वर्ष झण्डै दुई लाख ६० हजार व्यक्तिको ज्यान पेटको क्यान्सरका कारण जाने गरेको छ। चच्याङ प्रान्तका दुई अस्पतालमा गरिएको अध्ययनमा उक्त एआई प्रणालीले उच्च जोखिममा रहेका १७.७ प्रतिशत र २४.५ प्रतिशत बिरामीमा प्रारम्भिक चरणमै क्यान्सर पत्ता लगाएको थियो। तीमध्ये धेरैजसो बिरामीमा कुनै लक्षण देखिएको थिएन।
अनुसन्धानकै क्रममा क्यान्सर पुष्टि भएका ११ जना बिरामीको अघिल्ला सिटी रिपोर्ट अध्ययन गर्दा, प्रणालीले दुईदेखि दश महिना अघिनै असामान्यता संकेत गरिसकेको प्रमाणित भएको छ।
हाल चीनमै पेटको क्यान्सर बढी देखिने क्षेत्रहरूमा यो प्रणाली प्रयोगमा ल्याइएको छ भने भविष्यमा यसलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने तयारी भइरहेको जनाइएको छ।












