दाङ , श्रावण २० । रुन्टिगढि सेवा समाज दाङले स्वर्गद्धारी प्रभु महाराजको १६७ औं जन्मजयन्ति भव्य रूपमा कार्यक्रम गरी मनाएको छ। धार्मिक, सांस्कृतिक र सामाजिक चेतनाका अगुवा मानिने स्वर्गद्धारी प्रभु महाराजको योगदानको स्मरण गर्दै समाजले श्रद्धासहित जन्मोत्सव सम्पन्न गरेको हो। स्वर्गद्धारी प्रभु महाराजको वास्तविक नाम नारायण गिरी गौतम हो। उहाँको जन्म वि.सं. १९१६ साल श्रावण २० गते रोल्पा जिल्लाको रुन्टिगढि गाउँपालिका वडा नं. ९ स्थित सखि गाउँमा पिता अनिरुद्र प्रसाद गौतम खत्रि र माता स्वेताकुमारी गौतमको कोखबाट भएको थियो।
जन्मजयन्तिको अवसरमा आयोजित विशेष कार्यक्रममा संस्थाका अध्यक्ष गिरीराज दशौदिको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सञ्चालन सचिव नरेन्द्र डीसिले गर्नुभएको थियो। कार्यक्रममा प्रभु महाराजको जीवनी, दर्शन र योगदानबारे चर्चा गरिनुका साथै उहाँको आध्यात्मिक यात्रा र समाजमा पुर्याएको प्रभावमाथि प्रकाश पारिएको थियो। कार्यक्रमको अवसरमा रुन्टिगढि सेवा समाजको विशेष बैठक पनि बसि आगामी योजनाहरुमा चर्चा गरिएको थियो। बैठकले समाजको आफ्नै भवन निर्माण गर्ने उद्देश्यले जग्गा पहिचान गर्न उपसमिति गठन गर्ने निर्णय समेत गरेको छ।
उक्त उपसमितिको संयोजकत्वमा संस्थाका अध्यक्ष गिरीराज दशौदि रहनुभएको छ भने सदस्यहरूमा पोम बहादुर बुढाथोकी, रेखा वली, बेचन वली, बालाराम पुन र कुल बहादुर रोका रहेका छन्। समाजले स्वर्गद्धारी प्रभु महाराजको आध्यात्मिक शिक्षालाई भावी पुस्तासम्म प्रवाह गर्ने उद्देश्यले यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएको छ। कार्यक्रमले स्थानिय बासिन्दामा धार्मिक जागरण सिर्जना गर्नुका साथै सामाजिक सद्भाव अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा लिएको छ।












