दाङ, भदाै १५ । बिजौरी उद्योग वाणिज्य संघको १२ औँ साधारणसभा तथा स्वागत–सम्मान कार्यक्रम शनिबार भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले बिजौरी क्षेत्रलाई नयाँ ऊर्जा र आर्थिक केन्द्रका रूपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयाे ।

साधारणसभामा संघले बिजौरीलाई कृषि र व्यावसायिक प्रवर्धनको केन्द्रका रूपमा विकास गर्ने प्रस्ताव राखेकाे छ। संघले प्रदेश, संघीय र स्थानीय सरकारसँग सहकार्य गरी यहाँको व्यवसायिक सुरक्षा, पूर्वाधार र स्वरोजगारको वातावरण बनाउन आवश्यक कदम चाल्न आग्रह गरेकाे छ। प्रमुख अतिथिले भन्नु भयाे, “बिजौरी र रोल्पा जोड्ने मार्गले न केवल यात्रा सजिलो बनाउनेछ, तर यहाँको आर्थिक गतिविधिलाई पनि नयाँ उचाइमा पुर्‍याउनेछ। इन्धन खर्च घटाउन र व्यापारिक सुविधालाई दीर्घकालीन रूपमा कायम राख्न राज्यले यो मार्गलाई ध्यान दिनुपर्छ।”

विशिष्ट अतिथि तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले स्थानीय स्तरमै स्वरोजगार सिर्जना गर्न समुदाय र संघले सँगै काम गर्नुपर्ने जोड दिनु भयाे। उहाँले युवाहरूलाई आफ्नै देशमा व्यवसाय गर्न प्रोत्साहित गर्दै भन्नु भयाे, “विदेश गएर जे जस्तो काम गर्न सक्छन्, यहाँ किन सक्दैनन्? आफ्नै देशमा व्यवसाय गर्न लाज मान्नु हुँदैन।”

कार्यक्रममा सहभागी सबैले स्थानीय स्तरमै रोजगार सिर्जना, पूर्वाधार विकास र व्यावसायिक सुरक्षा सुनिश्चित गर्न संघ, सरकार र समुदायको सहकार्य अपरिहार्य भएकोमा सहमति जनाएका थिए। बिजौरीदेखि रोल्पा जोड्ने मार्ग निर्माण, पुल निर्माण र यातायात सुगमता जस्ता विषयमा राजनीतिक अवरोधका बाबजुद, स्थानीय स्तरमा व्यवसायिक क्रियाकलाप सुदृढ गर्न आवश्यक पहल गरिनुपर्ने सुझाब समेत दिएका छन।

कार्यक्रममा नियमित रूपमा कर तिर्ने सदस्यहरू, संघलाई सहयोग गर्ने व्यवसायीहरू तथा विभिन्न संस्थाका पदाधिकारीहरूलाई सम्मान गरिएको थियो। अध्यक्ष रेश्मीराज खड्काले समापन गर्दै बिजौरीको आर्थिक, व्यवसायिक र सामाजिक विकासमा सबैको सक्रिय सहभागिता आवश्यक भएको र संघले यस दिशामा निरन्तर पहल गर्ने बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस