भरत वली

घोराही, भदाै १६ । संघीय शिक्षा ऐनको प्रावधानविरुद्ध देशभर आन्दोलन चर्किंदै जाँदा दाङको घोराहीमा रहेका निजी तथा आवासीय विद्यालयले कालो झण्डा र कालो व्यानरसहित साेमबार सडक परिक्रमा गर्दाै प्रदर्शन गरेका छन्।

सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनले विद्यालयलाई गैर नाफामुखी बनाउने र पूर्ण छात्रवृत्ति सम्बन्धी व्यवस्था परिवर्तन गर्न लागेको भन्दै प्याब्सन, एन–प्याब्सन, हिसान र अपेनले संयुक्तरूपमा विरोधका कार्यक्रम घोषणा गरेका हुन्।

निजी विद्यालयहरूको मागअनुसार, पूर्ण छात्रवृत्ति भन्ने शब्द ऐनबाट हटाइनुपर्छ। विद्यालयमा उत्पादन नहुने वस्तु—जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना–खाजा अनिवार्य गराउने प्रावधान खारेज गर्नुपर्ने, साथै कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा आएका विद्यालयलाई गैर नाफामुखी बनाउने व्यवस्था हटाइनुपर्ने उनीहरूको भनाइ छ।

त्यसैगरी छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयलाई नै दिने, पालिका प्रतिनिधिको सहभागितामा पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था मिलाउनुपर्ने माग गरिएको छ। साथै, २०२१ को छात्रवृत्ति ऐन, २०६० को नियमावली र २०७७ को संशोधन ऐनअन्तर्गत विश्वविद्यालय तथा सीटीइभिटीमा गरिएको आरक्षण व्यवस्था विभेदकारी भएको भन्दै त्यसलाई खारेज गर्नुपर्ने माग पनि राखिएको छ।

यही मागसहित घोराहीका निजी तथा आवासीय विद्यालयका बसहरूले आज बजार क्षेत्रमा कालो झण्डा र कालो व्यानरसहित सडक परिक्रमा गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्। करिब २०० वटा विद्यालय बसहरू घोराहीका विभिन्न सडक घुमाएर सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनविरुद्ध असहमति प्रकट गरिएको हो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस