घोराही, भदाै १८ । ‘गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिबद्धता’ नारासहित आज निजी विद्यालय सञ्चालकहरूले घोराही बजारमा विरोध प्रदर्शन गरेका छन् । संघीय शिक्षा ऐनमार्फत निजी विद्यालय बन्द गर्ने जस्ता प्रावधान ल्याउने तयारीको विरोधमा उनीहरूले घोराही बजारका विभिन्न स्थानमा सडक र्‍याली निकाली तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत गरेका थिए ।

आज (बुधबार) सम्पन्न उक्त काेणसभा प्याब्सन दाङ जिल्ला अध्यक्ष निर्मल न्यौपानेकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे । कोणसभाका वक्ताहरूले संसदमा प्रस्तुत विद्यालय शिक्षा विधेयकले निजी क्षेत्रको योगदानमाथि प्रश्न उठाउनुका साथै संस्थागत अस्थिरता सिर्जना गर्ने खतरा बोकेको भन्दै आन्दोलनलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए । उनीहरूले विशेष गरी ‘विद्यालयलाई गैरनाफामूलक बनाउनुपर्ने’ र ‘पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने’ प्रावधान हटाउन माग गर्दै यस्ता व्यवस्थाले निजी क्षेत्रलाई निरुत्साहित गर्नुका साथै गुणस्तरीय शिक्षा प्रभावित हुने चेतावनी दिएका छन ।

निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले विद्यालय शिक्षा विधेयकलाई निजी विद्यालयहरूलाई धरासायी बनाउने नियतसहित ल्याइएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गर्दाै निरन्तर अान्दाेलनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस