घोराही, भदाै ३१ । ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट प्रभावित घोराही उपमहानगरपालिकाले अत्यावश्यक सेवाहरू भने जारी रहेको जनाएको छ । सोमबार आयोजित सर्वपक्षीय–सर्वदलीय छलफलमा नगरप्रमुख नरुलाल चौधरीले सरसफाइ, फोहोर व्यवस्थापन र बिरामीको सिफारिसजस्ता आधारभूत सेवा पुनः सञ्चालनमा आइसकेको जानकारी गराउनु भयाे । “सरसफाइ गाडी सुरक्षित भएकाले फोहोर उठाउने काम रोकिएको छैन । दमकल र जेसिभी पनि सुरक्षित भएकाले विपत् व्यवस्थापनका काममा अवरोध छैन,” नगरप्रमुखले भन्नु भयाे ।
छलफलमा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले आन्दोलनका क्रममा नगरपालिकाको विभिन्न शाखा–महाशाखामा तोडफोड, आगजनी तथा ल्यापटप, डेस्कटप, प्रिन्टरलगायत सामग्री चोरी भएको र महत्वपूर्ण कागजात जलेर नष्ट भएको विवरण प्रस्तुत गर्नु भयाे । उहाँका अनुसार सामाजिक विकास, आर्थिक प्रशासन, वातावरण–सरसफाइ, महिला तथा बालबालिका, खरिद, कृषि र पशु शाखा भने सुरक्षित छन् । घोराहीका वडा नं. ५, ६, ७, ८, १०, १३, १७ र १८ को कार्यालय पूर्णरूपमा जलेका छन् भने ४, ९, ११, १२, १४ र १५ नम्बर वडामा सामग्री बाहिर ल्याएर जलाइएको वा तोडफोड भएको छ । वडा नं. १, २, ३, १६ र १९ भने सुरक्षित रहेको उहाँले जानकारी दिनु भयाे । साथै चोरी वा हराएका कम्प्युटर, प्रिन्टर जस्ता उपकरण फिर्ता गर्न पनि अनुरोध समेत गर्नु भयाे । ठेक्का भइसकेका योजनाबाहेकका कार्य तत्काल रोकिने भए पनि प्रशासनिक कामकाज यथावत् चल्ने पनि जानकारी गराउनु भयाे ।
छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याउनेलाई कानुनी दायरामा ल्याउन माग गर्दै जनप्रतिनिधिहरूलाई सेवा प्रवाहमा उदार र जिम्मेवार बन्न सुझाव दिएका थिए । जेनजी पुस्ता सडकमा आउनुमा वर्तमान राजनीतिक नेतृत्वको असफलता पनि जिम्मेवार रहेको उल्लेख गर्दै उनीहरूले आत्मसमीक्षा आवश्यक रहेको बताएका थिए ।
उद्योग–व्यवसायी र सञ्चारकर्मीहरूले कर, सिफारिस शुल्क र व्यवसायिक करका क्षेत्रमा सुधार गरी जनजीवन सहज बनाउने विषयलाई प्राथमिकतामा राख्न नगरपालिकालाई आग्रह गरेका छन । छलफलमा नेपाली कांग्रेसका सभापति शंकर डाँगी, एमालेका उपाध्यक्ष मनोहर बुढाथोकी, माओवादी केन्द्रका जिल्ला सचिव विश्वराज आचार्य, राजमोका मनिराम खनाल, नागरिक समाजका नारायण विवश, घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष लव अधिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी, चेम्बर अफ कमर्सका विकास अग्रवाल, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सन्तोष सुवेदीलगायतले सुझाव प्रस्तुत गरेका थिए ।












