घाेराही, असोज १ । घोराहीस्थित होटेल मालाइन प्रालिमा भदौ २४ गते घटित तोडफोड तथा आगजनीका कारण करिब तीन करोड ५० लाख रुपैयाँ बराबरको क्षति पुगेको होटेल व्यवस्थापनले जानकारी गराएको छ।
होटेलका सम्माननीय सञ्चालक ओविन्द्रबहादुर महराले सो घटनालाई अत्यन्त दुःखद् बताउँदै संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनअनुसार कडा कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ। “घटनाको सत्य–तथ्य छानबिन गरी दोषीहरूलाई कानूनी दायरामा ल्याउन आवश्यक छ,” उहाँले उल्लेख गर्नुभयो।
उहाँका अनुसार होटेलमा पूर्वसभामुख आदरणीय श्री कृष्णबहादुर महराको लगानी रहेको भन्ने हल्लाका आधारमा तोडफोड तथा आगजनी भएको भन्ने कुरा आफूले सुन्नुभएकाे भए पनि सो आरोप निराधार रहेको स्पष्ट पार्दै, “होटेलमा पूर्वसभामुख महराको कुनै लगानी छैन, म स्वयंले बैंकबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेको छु,” भनी जानकारी दिनुभयो।
“यस्ता घटनाले लगानीकर्ताहरूको मनोबल कमजोर पार्छन्। मेरो परामर्शमा अर्को व्यवसाय थप्ने योजना थियो, तर अहिले त्यो सोच नै हराएको छ,” उहाँले दुःख व्यक्त गर्नुभयो। “यस्ता क्रियाकलापहरूले नयाँ पुस्तामा स्वदेशमै केही गर्ने उत्साह उत्पन्न हुन नदिने चिन्ता छ।”
सञ्चालक महराका अनुसार हाल होटेलको सरसफाइ र मर्मतकार्य भइरहेको छ र असोज २ गतेदेखि पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। “सक्दो छिटो मर्मत सकेर होटेल सञ्चालनमा ल्याउने हाम्रो प्रयास छ,” उहाँले बताउनुभयो। ग्राहकहरूलाई असुविधा नहोस् भन्ने उद्देश्यले सेवामा गुणस्तर कायम राख्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
जिल्लाको पहिचान बनेको होटेल मालाइनलाई पुरानै स्तरमा पुनःस्थापना गर्न सबैको साथ र सहयोग अपरिहार्य हुने पनि उहाँले जोड दिनुभयो












