दाङ, असोज १ । जेन–जी आन्दोलनको प्रभावले दाङ जिल्लामा रहेका सरकारी संरचनामा ठूलो क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ। जिल्ला प्रशासन कार्यालयका तथ्यांकअनुसार हालसम्म २४ वटा सरकारी निकायका ४७ भवन र १८९ वटा सवारीसाधनमा तोडफोड र आगजनीबाट क्षति पुगेको छ।
जिल्ला प्रशासन कार्यालयले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार १५ वटा सरकारी कार्यालयका २६ भवन पूर्णरूपमा जलेर वा भत्किएर नष्ट भएका छन् भने अन्य नौ कार्यालयका २१ भवन आंशिक रूपमा मात्र क्षतिग्रस्त भएका छन्।
पूर्ण रूपमा क्षति पुगेका भवनहरूमा उच्च सरकारी वकिल कार्यालय, आन्तरिक राजस्व कार्यालय र यातायात व्यवस्था कार्यालय तुलसीपुरका तीन–तीन भवन, जिल्ला समन्वय समिति, जिल्ला ट्राफिक प्रहरी कार्यालय, भूमि तथा जलाधार कार्यालय र तुलसीपुर उपमहानगरपालिकाका दुई–दुई भवन, साथै भूमि सुधार तथा मालपोत कार्यालय घोराही, नापी कार्यालय, उच्च अदालत, लोक सेवा आयोगको कार्यालय, इलाका प्रशासन कार्यालय तुलसीपुर, जलस्रोत तथा सिँचाइ कार्यालय, नेपाल आयल निगम कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय तुलसीपुर र घोराही उपमहानगरपालिकाका एक–एक भवन पर्छन्।
प्रशासकीय अधिकृत विजय गौतमका अनुसार आंशिक क्षति भएको सूचीमा घोराही उपमहानगरपालिकाका छ भवन, डिभिजन सडक कार्यालयका पाँच, घरेलु तथा साना उद्योग कार्यालयका तीन, बबई गाउँपालिकाका दुई र जिल्ला सरकारी वकिल कार्यालय, यान्त्रिक कार्यालय, सडक पूर्वाधार कार्यालय, जिल्ला अदालत, तुलसीपुर बसपार्क तथा टर्मिनल भवनका एक–एक भवन छन्।
सरकारी कार्यालयमा राखिएका सवारीसाधनमा पनि ठूलो क्षति भएको छ। कुल १८९ सवारीसाधनमध्ये ४० चारपाङ्ग्रे पूर्णरूपमा जलेका र चारवटा आंशिक क्षतिग्रस्त छन्। दुईपाङ्ग्रे सवारीसाधनमा १३४ वटा मोटरसाइकल, तीनपाङ्ग्रे एउटा र १० वटा साइकल पूर्णरूपमा क्षति पुगेका छन्।
चारपाङ्ग्रे क्षतिग्रस्त सवारीसाधनमध्ये ३३ वटा सरकारी गाडी, दुई निजी गाडी, तीन टिप्पर, दमकल, स्काभेटर, ट्र्याक्टर, टेलर, लोडर र ट्याङ्कर एक–एक छन्। यसैगरी सरकारी मोटरसाइकल ८४, निजी मोटरसाइकल ४७, स्कुटर तीन, अटो एक र साइकल १० वटा पूर्णरूपमा क्षति भएको प्रशासनले जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत गौतमका अनुसार हालसम्म सरकारी भवन र सवारीसाधनको संख्यात्मक क्षति मात्र संकलन गरिएको छ। आर्थिक मूल्याङ्कन पछि गरिने छ। निजी घर, पार्टी कार्यालय, व्यापारिक भवन र संघ–संस्थाका कार्यालयमा भएको क्षतिको विवरण पनि संकलन कार्यमा रहेको उहाँले बताउनु भयाे ।












