घोराही, ४ असोज । साहित्यकार पद्मप्रसाद शर्माको २०औँ कृति ‘चेष्टा’ को विमोचनसँगै गुरु सम्मान कार्यक्रम घोराहीमा सम्पन्न भएको छ ।

नेपाल निवृत्त शिक्षक समाज घोराही नगर समितिको आयोजनामा भएको कार्यक्रममा नगर समितिका अध्यक्ष बलदेव अधिकारीको अध्यक्षता तथा नेपाल निवृत्त शिक्षक समाज दाङका अध्यक्ष गोबिन्द पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि पौडेलले शर्मा शिक्षकको रूपमा लामो समय सेवा गरे पनि साहित्य क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको बताउँदै जीवनलाई सक्रिय राख्नुपर्नेमा जोड दिनुभयो ।

विशिष्ट अतिथि पूर्व शिक्षक एवम् साहित्यकार विनोद पोखरेलले आफ्ना शिष्य शर्माले साहित्यमा पुर्याएको योगदान र सक्रियताप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै रचनात्मकता निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो । मावि रझेनाका प्रधानाध्यापक उदब न्यौपानेले पुस्तकमा समावेश वंशावलीले आफन्तलाई चिन्ने अवसर प्राप्त भएको बताउनुभयो ।

राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीले ‘चेष्टा’ पुस्तकको समीक्षा गर्दै शर्माले साहित्यसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहेको र सातवटा विधामा कलम चलाएको जानकारी दिनुभयो । कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटा, पत्रकार रञ्जिता अधिकारी, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, नेपाल निवृत्त शिक्षक समाज दाङका सचिव दामोदर पाण्डे लगायत वक्ताहरूले शर्माले गरेका सामाजिक र साहित्यिक योगदानको प्रशंसा गर्नुभयो ।

लेखक शर्माले धन्यवाद ज्ञापन गर्दै मन्तव्य राख्नुभएको थियो । कार्यक्रम घोराही नगर समितिका उपाध्यक्ष नुमाकान्त न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएर नगर समिति सदस्य कमलराज पोखरेलले सञ्चालन गर्नुभएको थियो । सोही अवसरमा लेखक शर्माले आफ्ना गुरु विनोद पोखरेललाई सम्मान समेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस