विमल याेगी
दाङ, ६ भदाै । नेपाल राष्ट्रिय शिक्षक संगठन घोराही नगर समितिले यहीँ भदौ १३ गते आयोजना गर्न लागेको वडा स्तरीय तीजगीत तथा नृत्य प्रतियोगिताको तयारीलाई तीव्र पारेको छ। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना हुन लागेको उक्त प्रतियोगितालाई सभ्य, भव्य र व्यवस्थित रूपमा सफल बनाउन संगठनले विभिन्न उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँट गरेको हो।

नगरसमितिका अध्यक्ष पोषणराज विष्टको अध्यक्षता तथा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कमिटी दाङका अध्यक्ष मीनराज शर्मा पण्डितको प्रमुख आतिथ्यता एवम् सल्लाहकार दामोदर वस्नेतकाे विशिस्ट आतिथ्यतामा घोराहीमा बसेको बैठकले प्रतियोगिताको तयारी तथा उपसमिति गठनको निर्णय गरेको हो।

प्रतियोगितालाई व्यवस्थितरूपमा सम्पन्न गर्नका देवीबहादुर घर्ती संयोजक तथा पोषणराज विष्ट, श्रीधर पन्त र शंकर शर्मा अर्याल सदस्य रहनुभएको मञ्च व्यवस्थापन तथा अतिथि सत्कार उपसमिति, सुशीला थापाको संयोजकत्वमा विन्दु पौडेल, केशव खत्री, सुनिता गौतम, जानकी घर्ती, अशोक कुमार वली र हेमन्त पाण्डे सदस्य रहनुभएको परिकार व्यवस्थापन उपसमिति गठन गरेकाे छ । कार्यक्रमको प्रचार–प्रसारलाई व्यापक बनाउन खगेश्वर पौडेल संयोजक तथा विमल योगी र पाण्डव प्रसाद शर्मा सदस्य रहनुभएको प्रचार–प्रसार उपसमिति, लालमणी खड्काको संयोजकत्वमा पोषण विष्ट र खिमबहादुर बुढा सदस्य रहनुभएको प्रमाणपत्र छपाई तथा पुरस्कार व्यवस्थापन उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको छ।

बैठकलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका निवर्तमान अध्यक्ष तथा सल्लाहकार समितिका संयोजक दामोदर बस्नेतले तीज पर्वका नाममा पछिल्लो समय समाजमा भड्किलोपन, फजुल खर्च र विभिन्न विकृति-विसङ्गतिहरू बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले संगठनले आयोजना गर्ने कार्यक्रमहरूले त्यस्ता सामाजिक विकृतिलाई कम गर्दै सांस्कृतिक मौलिकता र चेतना जगाउने खालका सन्देश प्रवाह गर्नुपर्नेमा विशेष जोड दिनुभयो। कार्यक्रममा संगठनका संघीय क्षेत्र नम्बर २ का अध्यक्ष लालमणी खड्का र केन्द्रीय प्रतिनिधि अम्बिका विष्ट रावतले प्रतियोगिताले शिक्षकहरूबीचको एकता र नेपाली संस्कृतिको जगेर्नामा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

साे अवसरमा संगठनका १४ नम्बर वडा इन्चार्ज झग्गु पौडेल र सांस्कृतिक विभागका संयोजक वसन्त सुवेदीका साथै घोराहीका विभिन्न वडा कमिटीका अध्यक्ष तथा इन्चार्जहरूले आ-आफ्नो क्षेत्रमा भइरहेको तयारी र उत्साहजनक सहभागिताबारे जानकारी गराउनुभएको थियो। संगठनले यस प्रतियोगितामार्फत मौलिक तीज गीत र परम्परागत नृत्यलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। बैठककाे सञ्चालन संगठनका नगर सचिव खिम बहादुर बुढाले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस