दाङ, ५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनका क्रममा दाङमा आगजनीबाट प्रभावित सरकारी कार्यालयहरूको आइतबार अनुगमन गरेका छन्।

तुलसीपुर उपमहानगरपालिका क्षेत्रका प्रभावित कार्यालय निरीक्षण गर्दै मुख्यमन्त्री आचार्यले भने, “टेन्ट टाँगेर भए पनि सेवा प्रवाह निरन्तरता दिने हाम्रो प्रतिबद्धता छ। यसले कर्मचारी र सेवाग्राहीको मनोबल उच्च राख्न मद्दत पुग्छ।”

सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जेन्जी आन्दोलनको नाममा राज्यविरुद्ध आगजनी भएको बताउँदै भने, “मालपोत, नापीलगायतका कार्यालय जलेका छन्। कागजात खरानी बनेका छन्, जसलाई पुनः तयार पार्न निकै कठिनाइ हुनेछ। यस्तो गतिविधिले कसैलाई फाइदा हुने छैन।”

मुख्यमन्त्री आचार्यले सरकारी सम्पत्ति र संस्थामाथि गरिएको आक्रमणको निन्दा गर्दै यसले शान्तिपूर्ण आन्दोलनको स्वरूपलाई कलंकित गरेको टिप्पणी पनि गरे।

अनुगमनमा दाङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवाला निकायका पदाधिकारीहरू उपस्थित थिए। उनले उच्च अदालत तुलसीपुर, उच्च सरकारी वकिलको कार्यालय, पार्टी कार्यालय, कोमल रिसोर्ट, मालपोत कार्यालय, लोकसेवा आयोग, आन्तरिक राजस्व कार्यालय, भू–तथा जलाधार कार्यालयलगायतका संरचनाहरूको निरीक्षण गरे।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार भदौ २४ गतेको जेन्जी आन्दोलनमा प्रदेशभर १३२ सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएको थियो। यसै क्रममा ६७ निजी सम्पत्ति, ५२ राजनीतिक दलका कार्यालय र १४ प्रहरी इकाइमा पनि क्षति पुगेको थियो। सबैभन्दा बढी क्षति दाङमा परेको छ, जहाँ मात्र ७० संरचनामा तोडफोड र आगजनी भएको विवरण प्रहरीले सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस